छाडा २२ गाईवस्तु कान्जी हाउसमा
काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी र काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले बिहिवार २२ वटा छाडा गाईवस्तुलाई यहाँका विभिन्न स्थानबाट उठाई कान्जी हाउसमा पठाएको छ ।
काठमाडौँको सडकमा पछिल्ला दिनमा गाईवस्तु छाड्ने र धर्मको नाममा डामेर छाडिएका साँढेको बिगबिगी बढेपछि सो कदम चालिएको महाशाखाले जनाएको छ ।
यही चैत १९ गतेदेखि छाडा चौपाया, गाई र साँढे नियन्त्रण गर्ने कार्य सुरु गरेको संयुक्त टोलीले यसअघि १८ गाई, साँढे र बहरलाई नियन्त्रणमा लिई कान्जी हाउस टेकुमा पठाएको थियो भने आज बिहानैदेखि सुरु गरिएको सो अभियानअन्तर्गत काठमाडौँको बानेश्वरबाट एक, गौरीघाटबाट चार, गोपीकृष्णबाट तीन, गुहेश्वरीबाट दुई , कुपन्डोलबाट दुई , बल्खुबाट आठ, धूम्रबाराहीबाट एक र महाराजगन्जबाट एक छाडा गाईवस्तु नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीका प्रवक्ता पवन गिरीले जानकारी दिए। उनले सो अभियानअन्तर्गत हालसम्म ४० छाडा गाईवस्तु नियन्त्रणमा लिएर कान्जी हाउसमा पठाइएको बताए । सो अभियान हाल काठमाडौँमा मात्रै सुरु गरिएकामा क्रमशः ललितपुर र भक्तपुरमा समेत लागु गरिने योजना रहेको बताइएको छ ।छाडा चौपाया तथा गाईवस्तु छाड्ने गाईवस्तुका धनीलाई समेत आवश्यक जरिवाना गरी यस्ता कार्यलाई निरुत्साहन गरी सवारी आवागमनमा सहजता ल्याउने ट्राफिक प्रहरीको योजना रहेको छ ।
