काठमाडौँमा प्रहरीको स्वीप अपरेसन : एक सातामा ६४० जना पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन्। कात्तिक ९ देखि १६ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा ५५९ पुरुष, ७८ महिला र तीन जना अन्य गरी ६४० जना पक्राउ परेका हुन्।
पक्राउ परेकामध्ये विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना र चालु मुद्दामा फरार रहेका २० जना प्रतिवादी छन्। उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
अभियानअन्तर्गत सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी कार्यालय आसपास, बसपार्क, व्यस्त बजार तथा बढी भिडभाड हुने क्षेत्रमा निगरानी र जाँचलाई तीव्र पारिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्नुका साथै सम्भावित आपराधिक गतिविधि रोकथाम र नियन्त्रण गर्न विशेष प्रहरी टोली परिचालन गरिएको जानकारी दिए। उनका अनुसार बसपार्क, सार्वजनिक यातायात, व्यस्त बजार तथा सरकारी कार्यालय आसपास चोरी, लुटपाट, दुर्व्यवहार र बिचौलियाका गतिविधि हुन सक्ने भएकाले त्यस्ता क्षेत्रमा विशेष निगरानी बढाइएको हो।aa
पक्राउ परेका व्यक्तिमाथि लागेका आरोप तथा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न विशेष निगरानी तथा जाँच अभियानलाई निरन्तरता दिइने पनि प्रहरीले स्पष्ट पारेको छ।
