काठमाडौंमा बिजुली कटौती !
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा मंसिर ३ देखि १४ गतेसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कामलाई तीव्रता दिन कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् कटौती गर्न लागेको हो । प्राधिकरणका अनुसार उक्त अवधिमा विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । वितरण प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले भूमिगत लाइन विस्तार तथा व्यवस्थापनको काम गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकाअनुसार मंसिर ३ गते बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । मंसिर ४ गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्मको क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
त्यस्तै, मंसिर ५ गते कालिमाटी र बाफल फिडरअन्तर्गत स्युचाटार पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । मंसिर ६ गते बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा तथा मंसिर ७ गते कोटेश्वर/इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ईडीटीआर ९ए क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
मंसिर ८ गते बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा तथा मंसिर ९ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर २६ए र ईडीटीआर ४ क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
यसैगरी, मंसिर १० गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्म, मंसिर ११ गते बलम्बु/थानकोट फिडरअन्तर्गत सतुङ्गलदेखि डुङ्गे अड्डासम्म र मंसिर १२ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर ८ए र ईडीटीआर ८ क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
मंसिर १३ गते थानकोट फिडरअन्तर्गत बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म तथा मंसिर १४ गते धोबीखोला–बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले निर्धारित समयभित्र भूमिगत लाइन विस्तारको काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । यद्यपि, मौसम प्रतिकूल भएमा विद्युत् कटौतीको कार्यतालिका रद्द हुन सक्ने जनाएको छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।
