पाकिस्तानद्वारा एसियाली क्रिकेट काउन्सिलको सदस्यता त्याग्ने चेतावनी

काठमाडौँ । पाकिस्तानले एसियाली क्रिकेट काउन्सिल (एसीसी)को सदस्यता त्याग्ने चेतावनी दिएको छ । पाकिस्तानले एसिया कपका ४ वटा समूह चरणका खेल मात्रै आफ्नो देशमा आयोजना गर्न चाहेको छ । यदि यसो हुन नसके आफूसँग एसीसीबाट बाहिरिने विकल्प नभएको बताएको छ । पाकिस्तानको प्रस्तावअनुसार भारतबाहेक नेपाल, श्रीलंका, बंगलादेश र अफगानिस्तानले आफ्नो समूह चरणको एउटा मात्र खेल पाकिस्तानमा खेल्नेछन् । सबै देशले अरु सबै खेलहरु युएइमा खेल्नेछन् । यसका लागि पाकिस्तानले नै सबै खेलाडीहरुलाई चार्टर्ड विमानबाट पाकिस्तानबाट युएइ लैजानेछ । तर, पाकिस्तानको यो प्रस्तावलाई मुख्य गरी भारत, श्रीलंका र बंगलादेशले अस्वीकार गरेका छन् । यी देशहरुले एसिया कप श्रीलंकामा आयोजना गर्ने प्रस्ताव गरेका थिए । तर, यो प्रस्तावलाई पाकिस्तान क्रिकेट बोर्डले अस्वीकार गरेको छ । स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआइले जनाएअनुसार पाकिस्तान क्रिकेट बोर्डका अध्यक्षले यसै हप्ता दुबइमा एसीसीका अधिकारीहरुको बैठकमा आफूहरु आफ्नो देशमा ४ वटा मात्र खेल आयोजना गर्न पाए सन्तुष्ट हुने बताएका थिए ।
नजम सेठीले बैठकमा पाकिस्तान भर्सेज नेपाल, अफगानिस्तान भर्सेज श्रीलंका, अफगानिस्तान भर्सेज बंगलादेश र बंगलादेश भर्सेज श्रीलंका खेल पाकिस्तानमा आयोजना गर्ने प्रस्ताव गरेका थिए । यसअनुसार समूह बी का तीनवटै देशले २–२ खेल पाकिस्तानमा खेल्नेछन् । समूह ए का नेपाल र पाकिस्तानले एउटा खेल पाकिस्तानमा खेल्नेछन् भने भारतले खेल्ने छैन । तर, यदि सदस्य राष्ट्रहरुले यो प्रस्ताव अस्वीकार गरे पाकिस्तानले एसिया कपमा नखेल्ने र एसीसीबाट समेत बाहिरिने सेठीले बताएका छन् ।