आठ महिनामा ३ लाख ६८ हजार पर्यटक

२०७० भाद्र २४ गते, सोमबार


काठमाडौं,२४ भाद्र – सन् २०१३ को आठ महिनामा हवाई मार्ग हुँदै आएका साढे ३ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो गत वर्ष यही अवधिको दाँजोमा २.३ प्रतिशतले कम हो।नेपाल पर्यटन बोर्डले जनाएअनुसार गएको आठ महिनामा ३ लाख ६८ हजार ३ सय ९६ पर्यटक आएका थिए। गत वर्ष जनवरीदेखि अगस्टसम्म भने ३ लाख ७७ हजार ४३ पर्यटक हवाई मार्गबाट आएका थिए।
त्यसै गरी गत आठ महिनामा प्रमुख पर्यटन बजार भारतबाट १ लाख ३ हजार ५ सय ६८ आएका भए पनि यो संख्या गत वर्षको दाँजोमा १८.१ प्रतिशतले कम हो। बेलायतबाट २० हजार ३ सय ८८ र अमेरिकाबाट २६ हजार ८ सय ५४ आएका थिए। बेलायती ४ प्रतिशत र अमेरिकी ९.८ प्रतिशतले घटेका हुन्।
गत अगस्टमा भने पर्यटक आगमनमा झिनो सुधार भएको थियो। संख्या ४७ हजार ३ सय ९७ पुगेको छ। गत वर्ष अगस्टमा ४४ हजार ५ सय ७१ मा अडेको थियो। यो गत वर्षको दाँजोमा ६.३४ प्रतिशतले मात्र बढी हो। अगस्ट महिनालाई नेपाली पर्यटन उद्योगमा ‘अफ सिजन’ मानिन्छ।
नेपालको पर्यटन उद्योगमा पर्यटक आगमनको प्रमुख याम (हाइ सिजन) का रूपमा अक्टोबर आधा महिना, नोभेम्बर, फेब्रुअरी, मार्च र अप्रिललाई लिइन्छ। यसै गरी डिसेम्बर, जनवरी र सेस्टेम्बरको पहिलो दुई सातासम्मलाई लो सिजन तथा मे, जुन, जुलाई र अगस्टलाई अफ सिजन मानिन्छ।
बोर्डका अनुसार गत महिना भारतबाट १.७ प्रतिशतले पर्यटक घटेका थिए। संख्या १४ हजार ६८ मा झरेको छ। गत वर्ष १४ हजार ३ सय ७ पुगेको थियो। नेपाल आउने कुल पर्यटकको एक चौथाइ हिस्सा भारतीयले ओगट्छन्।सार्क क्षेत्रबाट गत महिना ९.६५ प्रतिशतको वृद्धि रेकर्ड गरिएको छ। संख्या १८ हजार ३ सय ९९ पुगेको छ। अघिल्लो वर्ष १६ हजार ७ सय ८० मा अडेको थियो। आठ महिनामा भने १५.३ प्रतिशतले घटेर १ लाख २० हजार ७ सय १७ मा झरेको छ। गत अगस्टमा एसियाबाट २१.९ प्रतिशतले बढेर ११ हजार ५ सय १ पुगेको थियो।
युरोपबाट १७.३ प्रतिशतको गिरावट रेकर्ड गरिएको छ। संख्या १० हजार ९३ मा अडेको छ। गत वर्ष भने १२ हजार २ सय १४ मा अडेका थिए। गत आठ महिनामा ८४ हजार ९ सय ५४ युरोपेलीले नेपाल घुमेका थिए।गत महिना बेलायतबाट १ हजार ९ सय ३६ आएका थिए। गएको वर्ष अगस्टमा १ हजार ८ सय ९४ आएका थिए। अर्को प्रमुख बजार अमेरिकाबाट १६ प्रतिशतले बढेर २ हजार ४ सय ८७ आएका छन्। गत वर्ष २ हजार १ सय ४३ आएका थिए।गत अगस्टमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५९ हजार ३ सय ३५ विदेशी पर्यटक बाहिरिएका थिए। उक्त अवधिमा ६२ हजार २ सय नेपाली स्वदेश भित्रिएका र ७५ हजार २ बाहिरिएका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज इन्द्रजात्रा

२०८३ आश्विन ९ गते, शुक्रबार

इन्द्रजात्रा सुरु

२०८३ आश्विन ७ गते, बुधबार