गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले गैँडा मार्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्ज छिरेको आशङ्कामा खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको छ । नवलपरासीको (वर्दघाट–सुस्तापूर्व) मध्यविन्दु नगरपालिका–१ सेतीपानीका ६८ वर्षीय खड्गनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५ फुर्केडाँडाका ५२ वर्षीय टेकबहादुर मगरलाई मंगलबार सार्वजनिक गरिएको हो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरले दुवैलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानघाटबाट पक्राउ गरिएको जानकारी दिए। उनीहरुको साथबाट कार्तोस भनिने बन्दुक एक थान र सोमा लाग्ने गोलीगठ्ठा बरामद गरिएको छ।
पक्राउ परेका चौधरीको घर खानतलासी गर्दा बाघको दाँतजस्तो देखिने आखेटोपहार सात थान, माउजर भनिने बन्दुक एक थान, गोलीगठ्ठा र भारतीय ५०० का नोट १३६ थान बरामद गरिएको थापामगरले जानकारी दिए।
पक्राउ परेका दुवैलाई संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडा मार्ने उद्योग र संरक्षित वन्यजन्तुको आखेटोपहार खरिद बिक्री मुद्दामा अनुसन्धान सुरु गरिएको निकुञ्जले जानकारी दिएको छ। दुवैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५घ) र दफा २६ (१) वमोजिम सजायको माग गर्दै नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको छ।
