अमेरिका र इरान युद्ध :मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल

२०८३ भाद्र १ गते, सोमबार


काठमाडौँ । अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गरेयता जारी संघर्ष अहिले हवाई तथा क्षेप्यास्त्र आक्रमणबाट समुद्री मार्ग, ऊर्जा पूर्वाधार र क्षेत्रीय सुरक्षासम्म फैलिएको छ। युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास भइरहे पनि पछिल्ला दिनमा वार्ता पुनः गतिरोधमा पुगेको छ।
संघर्षको सबैभन्दा संवेदनशील केन्द्र अहिले होर्मुज जलडमरूमध्य बनेको छ। विश्वको महत्वपूर्ण तेल तथा ग्यास आपूर्ति मार्गका रूपमा रहेको यो जलमार्गमा पछिल्ला दिनमा जहाज आवागमन अत्यन्त न्यून भएको छ। रुट ट्र्याकिङ तथ्यांकअनुसार शनिबार पाँचवटा कमोडिटी जहाजमात्र होर्मुजबाट गुज्रिएका थिए भने आइतबार एउटा पनि त्यस्तो जहाज पार भएको देखिएन। युद्धअघि दैनिक १३० भन्दा बढी जहाज आवतजावत गर्ने गरेकोमा अहिले व्यापारिक गतिविधि करिब ठप्पजस्तै बनेको छ।
इरानले अमेरिका आफ्नो माग पूरा नगरेसम्म होर्मुज खुला नगर्ने अडान लिएको छ। तेहरानले युद्ध अन्त्य, अमेरिकी व्यवहारमा परिवर्तन तथा विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्नेलगायतका माग अघि सारेको छ। इरानी पक्षले होर्मुजमाथि आफ्नो नियन्त्रण रहेको दाबी गर्दै अमेरिकी दबाब स्वीकार नगर्ने बताइरहेको छ।

प्रतिक्रियाहरु

[anycomment]