चीनद्वारा अमेरिकालाई पारस्परिक कर पूर्णरूपमा रद्द गर्न आग्रह

२०८२ बैशाख १ गते, सोमबार


काठमाडौँ । चीनले अमेरिकालाई सबै पारस्परिक महसुल (रेसिप्रोकल ट्यारिफ) रद्द गर्न आग्रह गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्मार्टफोन र कम्प्युटरलगायत इलेक्ट्रोनिक उत्पादनलाई पारस्परिक शुल्कबाट छुट दिने निर्णय गरेपछि चीनबाट उक्त प्रतिक्रिया आएको हो । अमेरिकाले स्मार्टफोन र कम्प्युटरलगायत इलेक्ट्रोनिक सामानमा पारस्परिक कर नलाग्ने घोषणा गर्दा चीनलाई पनि राहत भएको छ ।
यसैबीच चिनियाँ अधिकारीहरूले ट्रम्पलाई पारस्परिक करहरू ‘पूर्ण रूपमा रद्द’ गर्न आह्वान गरेका हुन् । ट्रम्पको पारस्परिक कर लागू भएदेखि नै विश्वका दुई ठूला अर्थतन्त्र (अमेरिका र चीन) बीच ‘कर युद्ध’ चलिरहेको छ । चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘हामी अमेरिकालाई आफ्ना गल्ती सच्याउन, पारस्परिक करको गलत नीति पूर्ण रूपमा रद्द गर्न र पारस्परिक सम्मानको सही बाटोमा फर्कन ठूलो कदम चाल्न आग्रह गर्दछौँ ।’
ट्रम्प प्रशासनले शुक्रबार मोबाइल फोन र कम्प्युटरलगायत धेरै इलेक्ट्रोनिक उत्पादनलाई पारस्परिक करबाट छुट दिने घोषणा गरेको छ। यसमा चीनबाट आयात हुने सामान पनि पर्छन् । यद्यपि, अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले आइतबार एबीसी न्युजसँग यो छुट अस्थायी भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अप्रिल २ देखि विश्वका धेरै देशबाट आयात हुने सामानमा पारस्परिक शुल्क लगाएका छन् । तथापि ट्रम्पले चीनबाहेक विश्वका बाँकी देशका लागि यो कर ९० दिनका लागि स्थगन गरेका गरेका छन् । अमेरिकाले चीनविरुद्ध भन्सार शुल्क १४५ प्रतिशत लगाएको छ भने चीनले पनि अमेरिकी सामान आयातमा ८४ प्रतिशत शुल्क लिने घोषणा गरेको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]