गोसाइँकुण्ड मेला जेठ १३ गतेदेखि

काठमाडौँ । गोसाइँकुण्ड क्षेत्र विकास समितिले जेठ १३ गतेदेखि जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाइँ कुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेको जनाएको छ । समितिले यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा राखेको छ । रसुवाको उच्च भागमा अवस्थित समुन्द्र सतहबाट चार हजार ३८० मिटर उचाइ अवस्थित कुण्ड जानका लागि काठमाडौंदेखि धुञ्चेसम्मको मोटर यात्रा गरेपछि पैदल यात्रा सुरू हुने र तिवारी बगर, खन्ति, देउराली, डिम्सा, चोलाङपाटी हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ ।
गङ्गा दशहरा पर्वका लागि पतञ्जली योग समितिमार्फत आएका २५० भन्दा बढी भक्तजन आज बिहानै गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरीले जनाएको छ । धार्मिक मान्यताअनुरूप जीवनमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थस्थल भएका कारण भक्तजन गोसाइँकुण्ड पुग्ने गरेका छन् ।
विशेष पर्व गङ्गादशहरामा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिनगरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ । बाह्रै महिना भक्तजन आवतजावत भने निरन्तरता दिँदै आएको छ । यात्रुहरूको बासस्थानका लागि ठाउँठाउँमा होटल सञ्चालनमा छन् । अनुपम प्राकृतिक छठाले गर्दा कुण्डमा जान सहज भएको कृषि वैज्ञानिक डा ताराबहादुर घिमिरेले बताए ।