साततले दरबार पुनर्निर्माण हुँदै

२०८२ असार ८ गते, आईतवार


काठमाडौँ । विनाशकारी गोरखा भूकम्पबाट क्षति पुगेको नुवाकोटको साततले दरबार (दुर्गरत्न दरबार)को पुनर्निर्माण प्रक्रिया अघि बढेको छ। स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय नुवाकोटका प्रमुख सुनिल पाण्डेका अनुसार दिउँसो १ बजेदेखि दरबारको छाना हटाएर क्षतिग्रस्त भाग हटाउने काम सुरु गरिएको छ। चिनियाँ पक्षले सरोकारवालाहरूलाई जानकारी गराउँदै पुनर्निर्माण अगाडि बढाएको हो।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठका अनुसार दरबारको पुनर्निर्माण र प्रबलीकरणको प्रक्रिया भत्काउँदै जाँदा गरिने प्राविधिक अध्ययनपछि मात्र स्पष्ट हुने बताए। हालको अध्ययनअनुसार दरबारको जगदेखि तेस्रो तलासम्मको संरचना सुरक्षित देखिएको छ। दरबार पूर्ण रूपमा भत्काउने वा केही तलामात्र हटाएर पुनर्निर्माण थाल्ने निर्णय त्यसपछि गरिनेछ।
चिनियाँ निर्माण कम्पनी ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’मार्फत साततले दरबार, तुलजा भवानीको मन्दिरसहित अन्य आठ संरचनाको पुनर्निर्माण कार्य भइरहेको छ। तुलजा भवानी मन्दिर पूर्ण रूपमा भत्काएर पुनर्निर्माण थालिएको छ।
निर्माण कम्पनीले साततले दरबार र तुलजा भवानी मन्दिरको पुनर्निर्माण कार्य २०८३ साल असोजभित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ। बाँकी धार्मिक, सांस्कृतिक र पुरातात्त्विक संरचनाको पुनर्निर्माण त्यसपछि सुरु गरिने समझदारी भएको छ।

प्रतिक्रियाहरु

[anycomment]