बुद्ध एयरले काठमाडौं–कोलकाता उडान पुनः सुरु गर्ने

काठमाडौँ । बुद्ध एयरले आगामी १९ अक्टोबर (कात्तिक २) बाट काठमाडौं–कोलकाता सिधा उडान पुनः सुरु गर्ने भएको छ । यसअघि बुद्ध एयरले विसं २०७६ को बैशाख २ बाट कोलकाता उडान भरेको थियो । पछि कोभिड महामारीका कारण मंसिर १६ बाट उडान तत्कालको लागि स्थगन गरेको थियो । सुरुमा साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार काठमाडौंबाट बिहान ७ बजे र कोलकाताबाट स्थानीय समय ९ः२० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर–७२ जहाजबाट गर्नेछ । यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ ।
यात्रुको समय र पैसाको बचत होस् हेतुले बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरू भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरूको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरू पनि सञ्चालन गरिरहेको छ ।
नेपाली यात्रुहरूलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरू बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गरिरहेको हो ।
व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत् भारतीय धार्मिक तथा पर्यटकीय यात्रुलाई नेपाल भित्र्याई पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास बुद्ध एयरको रहेको छ ।
बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ ६ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ । कोलकाता–काठमाण्डौको सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हो । अहिले यो रुटमा हवाई उडान गर्नेमा पनि बुद्ध एयर एक मात्र हुने कम्पनीले जानकारी दिएको छ ।