२५ वर्षअघि कुमारीघरबाट चोरिएको तोरण बेलायतबाट फिर्ता
काठमाडौँ। कुमारीघरबाट करिब २५ वर्ष अगाडि चोरिएको पुरातात्विक वस्तु ‘तोरण’ बेलायतबाट नेपालले फिर्ता ल्याएको छ। पुरातत्त्व विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो।
मल्लकालीन समयमा निर्माण भएको उक्त सम्पदा २०५७ सालमा कुमारीघरबाट चोरी भएको थियो। बेलायतस्थित सङ्ग्रहालयमा फेला परेपछि सरकार, विभिन्न संस्था तथा विद्वानबीचको सहकार्यबाट नेपाल फिर्ता गरी सोही स्थानमा हालै प्रतिस्थापन गरिएको हो। प्रतिस्थापन अगाडि राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो।
अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा आवश्यक कानुनी प्रकृया पूरा गरी सम्बन्धित मुलुकमा फिर्ता गर्नुपर्ने प्रावधानअनुसार सो सम्पदा ल्याइएको पुरातत्त्व विभागकी अधिकृत सरिता सुवेदीले जानकारी दिए। उनका अनुसार नेपालबाट चोरिएका विभिन्न मूर्तिहरू, कलावस्तु, सम्पदा विश्वका कुनै मुलुकमा फेला परेको सूचना प्राप्त भएपछि फिर्ताका लागि प्रक्रिया अघि बढाइन्छ।
विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा पुगेको सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ। अन्तर्राष्ट्रिय तहमा बसेका नेपाली समुदाय, सम्पदा क्षेत्रमा क्रियाशील संघसंस्थाले पनि सहयोग गर्दै आएका छन्।
काठमाडौँ उपत्यकामा मध्यकालीन समयमा निर्माण भएका काष्ठकला, मूर्तिकला, प्रस्तरकला, वास्तुकलाका नमुना विशेषगरी विभिन्न मठमन्दिरमा सजिएका छन्। त्यसले तत्कालीन समाजको कला शैली निर्माणको अवस्था अध्ययनमा सहयोग पुगेको छ।
