ट्राफिक प्रहरी लेन अनुशासन तर्फ़
काठमाडौ, २६ असोज ।ट्राफिक प्रहरीले सवारीचालकमा लेन अनशासन नमान्ने प्रवृत्ति बढ्दै गएपछि कारबाहीमा पनि कडाइ गरेको छ । लेन अनुशासन कारबाहीमा पर्नेहरुले मापसे कारबाहीमा जस्तै अनिवार्य रुपमा एक घन्टा ट्राफिक शिक्षाबारे कक्षा लिनुपर्ने छ ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार आइतबारदेखि यस्तो कारबाही सुरु हुनेछ । ‘सडक लेनको अनुशासन नमान्नेको कागजपत्र लिन्छौं,’ महाशाखाका डीआइजी केशब अधिकारीले भने,‘जरिवाना गरेर एक घन्टाको कक्षा लिएपछि मात्र उनीहरुको लाइसेन्स र विलबुक फिर्ता दिन्छौं ।’ सडक अनुशासन नमान्नेलाई ट्राफिक प्रहरीले २ सय रुपैयाँ जरिवाना गर्ने गरेको छ ।
कारबाहीमा सवारीचालकले सोमबारदेखि अनिवार्य कक्षा लिनुपर्ने हुन्छ । लेन अनुशासन नमान्नेलाई ट्राफिक शिक्षा दिन ट्राफिक प्रहरीले छुट्टै कोर्स बनाएको छ ।