एकै दिन २७० जनाद्वारा सगरमाथामा आरोहण
काठमाडौँ । पर्वतारोहण सञ्चालक संघ नेपालका अनुसार एकै दिन २७० जना भन्दा बढी आरोहीहरूले सफलतापूर्वक पाइला सगरमाथामा आरोहण गरेका छन् । संघले यो नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहणमध्ये एक भएको बताएको छ ।
संघका महासचिव ऋषि राम भण्डारीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, यो उपलब्धि नेपालको पर्यटन र साहसिक क्षेत्रका लागि अत्यन्त गौरवपूर्ण र उत्साहजनक क्षण हो ।
यसपटक नेपालका कामिरिता शेर्पाको ३२औं र महिला तर्फ संखुवासभाकी लाक्पा शेर्पाको ११औं पटक सगरमाथा आरोहण लगायतका थुप्रै नयाँ कीर्तिमानहरू कायम भएका छन् ।
यसवर्ष (वसन्त ऋतु २०२६) नेपालतर्फबाट सगरमाथा आरोहणका लागि ५०० भन्दा बढी आरोहीहरूले अनुमति पत्र (पर्मिट) लिएका छन्, जुन आफैंमा एउटा नयाँ कीर्तिमान हो ।
गत १३ मे २०२६ मा पर्वतारोहण सञ्चालक संघ नेपालको बाटो खोल्ने तथा डोरी टाँग्ने टोलीले सफलतापूर्वक मार्ग निर्माण गरेपछि आरोहीहरूका लागि सगरमाथाको ढोका खुलेको थियो । त्यसयता मौसमले साथ दिएसँगै आरोहीहरू निरन्तर चुचुरोमा पुगिरहेको संघले जनाएको छ ।
