विश्वकै शक्तिशाली र सुरक्षित सोलिड–स्टेट ब्याट्रीको विकास

२०८३ जेष्ठ १० गते, आईतवार


काठमाडौँ । चाईनिज एकेडेमी अफ साइन्सेसका वैज्ञानिकहरूले हाई–इनर्जी सोलिड–स्टेट लिथियम मेटल ब्याट्री विकास गरेका छन्, जसलाई केवल ३ मिनेटमै पूर्ण रूपमा चार्ज र डिस्चार्ज गर्न सकिन्छ। यो अनुसन्धान जर्नल अफ द अमेरिकन केमिकल सोसाईटीमा प्रकाशित गरिएको छ। यो नयाँ प्रविधिले चार्जिङ समय अत्यन्त कम गर्नुका साथै अहिलेका ब्याट्रीहरूको तुलनामा दुई गुणाभन्दा बढी रेन्ज पनि दिन सक्छ। यसलाई संसारकै सबैभन्दा शक्तिशाली र सुरक्षित सोलिड–स्टेट ब्याट्री मानिएको छ। आउनुहोस्, यसको विस्तृत जानकारी बुझौँ।
अहिले विकास भइरहेका धेरैजसो सोलिड–स्टेट ब्याट्रीहरूमा पीभीडीएफ(पोलिभिलिडिन फ्लोराइड) नामक पोलिमर इलेक्ट्रोलाइट प्रयोग गरिन्छ। तर फास्ट चार्जिङका बेला ब्याट्रीभित्रका रसायनहरू आपसमा प्रतिक्रिया गरेर बिग्रिने समस्या थियो, जसले ब्याट्रीको आयु घटाउँथ्यो।
चिनियाँ वैज्ञानिकहरूले यसको समाधानका लागि ‘कम्प्याटिबिलाइजिङ–सल्भेन्ट प्लास्टिसाइजेशन’ नामक नयाँ प्रविधि विकास गरेका छन्। यसमा तह बनाउने क्रममा विशेष प्रकारको रसायन मिसाइन्छ, जुन पछि वाष्पीकरण भएर ब्याट्रीभित्र बलियो लिथियम फ्लोराइडको तह बनाउँछ। यसले भित्री रसायनहरूलाई एकअर्कासँग प्रतिक्रिया गरेर बिग्रिनबाट जोगाउँछ।
यो नयाँ ब्याट्रीले परीक्षणका क्रममा पुराना सबै रेकर्ड तोडेको छ।
–३ मिनेटमै चार्जिङ – रिपोर्टअनुसार यो ब्याट्री २० सी स्पिडमा चार्ज हुन सक्छ, जसको अर्थ यसलाई केवल ३ मिनेटमै फुल चार्ज गर्न सकिन्छ।
–लामो आयु – यति छिटो चार्जिङ भए पनि ७०० पटक पूर्ण चार्ज–डिस्चार्जपछि पनि यसको क्षमता ८१.९ प्रतिशत कायम रह्यो।
–यो सोलिड–स्टेट सेलको ऊर्जा घनत्व ४५१.५ वाट आवर पर केजी मापन गरिएको छ। तुलना गर्दा अहिलेका व्यावसायिक इलेक्ट्रिक कारमा प्रयोग हुने एलएफपी ब्याट्रीहरूले लगभग २०० वाट आवर पर केजी क्षमता मात्र दिन्छन्। अर्थात् यो ब्याट्री आकारमा सानो भएर पनि दुई गुणाभन्दा बढी ऊर्जा भण्डारण गर्न सक्षम छ।
–वैज्ञानिकहरूले परीक्षणका क्रममा ब्याट्रीमा फलामको कील आरपार ठोक्दा पनि न विस्फोट भयो न आगो लाग्यो। यसले यसको उच्च सुरक्षा स्तर प्रमाणित गर्छ।
हाल विश्वभरका ठूला ब्याट्री कम्पनीहरू ५०० वाट आवर पर केजी क्षमता भएका सोलिड–स्टेट ब्याट्री विकास गर्न प्रतिस्पर्धामा छन्, र चिनियाँ कम्पनीहरू यसमा अग्रस्थानमा छन्।
–गाङफेङ लिथिनियम– यसको ४०० वाट आवर पर केजी सोलिड–स्टेट ब्याट्रीले १,१०० भन्दा बढी साइकल पूरा गरिसकेको छ, र ५०० वाट आवर पर केजी ब्याट्रीको सानो स्तरमा उत्पादन पनि सुरु भइसकेको छ।
–पियोर लिथियम – यो स्टार्टअप कम्पनीको ब्याट्री बीचबाट काटिँदा पनि कुनै विस्फोट बिना चलिरह्यो।
–अन्य कम्पनीहरू – क्याटएल, सुनवोडा र फारासिस इनर्जी जस्ता कम्पनीहरूले २०२६ देखि २०२७ भित्र ५०० वाट आवर पर केजी क्षमता भएका सोलिड–स्टेट ब्याट्री बजारमा ल्याउने तयारी गरिरहेका छन्।

प्रतिक्रियाहरु

[anycomment]