कोचिङ इन्स्टिच्युटमा आगलागी : १५ जनाको मृत्यु

२०८३ असार ९ गते, मंगलवार


काठमाडौँ । भारतकाे एक कोचिङ इन्स्टिच्युटमा भएकाे आगलागीमा परी मृत्यु हुनेकाे संख्या १५ जना पुगेकाे छ। उत्तर प्रदेशको लखनउको अलिगञ्ज क्षेत्रमा भएकाे आगलागीमा परी घाइते भएका अन्य आठ जनालाई पनि गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको हाे । घटनामा अधिकांशकाे धुवाँले निस्सासिएर श्वासप्रश्वासमा समस्या भई ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआइले जनाएको छ । किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेन्डेन्ट प्रेम राज सिंहले अस्पताल ल्याउँदा नै १५ जनाको ज्यान गइसकेको बताएका हुन् ।
आगलागीबाट भवनमा भएको लाइब्रेरी र कम्प्युटर ट्रेनिङ इन्स्टिच्युटमा क्षति पुगेको छ ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेका छन् । उनले ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहायताको घोषणा गरेका छन् ।
प्रधानमन्त्री कार्यालयले जारी गरेकाे विज्ञप्तिमा प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट ज्यान गुमाएकाको हरेक परिवारलाई दुई लाख र घाइतेलाई जनही ५० हजार भारु दिने उल्लेख गरिएकाे छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनास्थलको अवलोकन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]