कक्षा १२ को प्रमाणपत्रका लागि तोकिएकोभन्दा बढी शुल्क नलिन निर्देशन
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कोशी प्रदेश (विराटनगर, मोरङ) ले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूबाट ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल (टी.एम.पी.) प्रमाणपत्रका लागि तोकिएकोभन्दा बढी शुल्क नलिन सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिएको छ। कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा कक्षा १२ उत्तीर्ण विद्यार्थीका लागि ट्रान्सक्रिप्ट (Transcript), माइग्रेसन (Migration) र प्रोभिजनल (Provisional) प्रमाणपत्र उपलब्ध गराउँदा राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको शुल्क मात्र लिनुपर्ने उल्लेख गरिएको छ।
बोर्डका अनुसार उक्त तीनवटै प्रमाणपत्रका लागि प्रतिविद्यार्थी रु. १,५०० मात्र शुल्क तोकिएको छ। तर, केही विद्यालयले तोकिएकोभन्दा बढी रकम असुल गरिरहेको भन्दै सरकारको जनगुनासो सुनुवाइ संयन्त्र ‘हेलो सरकार’ मा उजुरी परेपछि बोर्डले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। बोर्डले सबै विद्यालयलाई निर्धारित शुल्कभन्दा बढी रकम नलिन तथा विद्यार्थीलाई अनावश्यक आर्थिक भार नपार्न निर्देशन दिँदै नियमविपरीत अतिरिक्त शुल्क असुलिएको पाइए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने संकेत गरेको छ।
परीक्षा बोर्डको यो निर्देशनसँगै कक्षा १२ उत्तीर्ण विद्यार्थी तथा अभिभावकलाई तोकिएको शुल्कभन्दा बढी रकम मागिएमा सम्बन्धित निकायमा उजुरी गर्नसमेत आग्रह गरिएको छ।
