जापानमा बाढी र वर्षा : ४ जनाको मृत्यु
काठमाडौँ । जापानको पूर्वी क्षेत्रमा पर्ने चिबा प्रान्तमा अत्यधिक वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार अभूतपूर्व वर्षाले निम्त्याएको यो विपद्का कारण यस क्षेत्रको जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ। जापान मौसम विज्ञान एजेन्सीले जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूलाई लक्षित गर्दै सर्वोच्च तहको आपतकालीन चेतावनी जारी गरेको थियो।
बाढी र डुबानका कारण मुख्य सडकहरू अवरुद्ध हुनुका साथै हजारौँ घरपरिवारमा विद्युत आपूर्ति बन्द भएको छ। साथै, यातायात सेवा ठप्प हुँदा नारिता अन्तर्राष्ट्रिय विमानस्थललगायतका क्षेत्रमा हजारौँ यात्रुहरू अलपत्र परेका छन्।
स्थानीय प्रशासन र उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीब्रता दिएका छन् भने मौसम विज्ञहरूले थप सतर्कता अपनाउन आग्रह गरेका छन्।
