वर्तमान सरकार भवितव्यको उपज !

२०८३ श्रावण ३१ गते, आईतवार


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार भवितव्यको उपज भएको ठोकुवा गरेका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
अध्यक्ष ओलीले मुलुकमा असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको दाबी गरे । उनले वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको बताए ।
अध्यक्ष ओलीले आफूलगायत नेपाली काँग्रेसका नेता रमेश लेखक र अन्य नेताहरूलाई विभिन्न समयमा पक्राउ गर्ने तथा झुटा मुद्दा लगाउने कोसिस भइरहेको बताए । उनले सरकारले लोकतान्त्रिक मूल्यमान्यता विपरीत विभिन्न क्षेत्रमाथि अङ्कुश लगाउन खोजेको टिप्पणी गरे ।
अध्यक्ष ओलीले सरकारका यस्ता गतिविधिका बाबजुद विचलित नहुन आग्रह गर्दै देशको हित र रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले सरकारले गरिरहेका ‘उपद्रव’ बाट आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै राष्ट्रभक्तिको भावनाका साथ अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

यसैगरी, अध्यक्ष ओलीले नेतृत्व नछाड्ने बताउदै भने- ‘विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइराखेको छ । एकताबद्ध पार्टीले सामना गर्नुपर्ने बेलामा अध्यक्ष हटाउँछौँ भन्या छ । यो केही हुनेवाला होइन । अब केन्द्रीय कमिटीको बैठक पछि पार्टीलाई दृढ अनुशासनका साथ एकताबद्ध बनाएर लगिनेछ । अनुशासनका साथ लगिनेछ ।’
यसैगरी, अध्यक्ष ओलीले पार्टीमा अराजकता र मनपरितन्त्र नचल्ने चेतावनी दिदै भने, ‘पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जेपायो त्यही लेख्ने कुरा हुँदैन । पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ । अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको अनुशासन के के छ, त्यही गरे हुन्छ । चुप लागेर घरमा बस्ने भए बसे हुन्छ। तर पार्टीमा काम गर्ने हो अनुशासन चाहिन्छ । कुनै संस्थामा काम गर्दा त्यो संस्थाको नीति, नियम, विधि, अनुशासन पालना गर्नुपर्छ। यो कुरा कार्यान्वयन गरेर गइन्छ ।’
यसैगरी, अध्यक्ष ओलीले विधि–विधान विपरीत जानेहरूमाथि कारबाही हुने चेतावनी दिए । उनले आफूले अर्को महाधिवेशनसम्मका लागि पार्टी चलाउनका लागि कार्यकर्ताबाट अत्याधिक मतसहित जितेर नेतृत्वमा आएकाे बताए ।

प्रतिक्रियाहरु

[anycomment]