टप एण्ड टी–२० : नेपाल ‘ए’ भिक्टोरिया सिए–११ संग भिड्दै

२०८३ भाद्र १३ गते, शनिबार

काठमाडौँ । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’ ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्दै छ । खेल डार्विनस्थित मारारा क्रिकेट मैदानमा दिउँसो १ः१५ बजे सुरु हुनेछ । सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा छ । नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा रहेको छ । जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले तीन खेलमा हार तथा दुई खेलमा जित निकालेको छ । नेपालले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा दोस्रो खेलमा बङ्गलादेश हाइपरफर्मेन्स–११ विरुद्ध नौ विकेटको हार व्यहोरेको थियो ।
त्यसपछि नेपालले तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई चार विकेटले पराजित गरेको थियो । पाँचौँ खेलमा भने नेपाल हैदरावाद किङ्समेन एकेडेमीविरुद्ध ३१ रनले पराजित भएको थियो । नेपालले आज भिक्टोरिया सिए–११ लाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्य राखेको छ ।
टप एन्ड टी–२० सिरिजका लागि नेपाल ए’ को टोलीमा कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव रहेका छन् । यस्तै, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री पनि टोलीमा समावेश छन् ।

प्रतिक्रियाहरु

[anycomment]