मानिसको शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण : २७१ दिनसम्म चल्यो !

२०८३ भाद्र २० गते, शनिबार

काठमाडौँ । अमेरिकी नागरिक टिम एन्ड्रुको शरीरमा प्रत्यारोपण गरिएको आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौलाले २७१ दिनसम्म काम गरेको छ। चिकित्सकहरूका अनुसार हालसम्म मानव शरीरमा सुँगुरको मिर्गौलाले काम गरेको यो सबैभन्दा लामो अवधिमध्येको एक हो। यस सफलताले मानव मिर्गौलाको चरम अभावबीच ‘जेनोट्रान्सप्लान्टेसन’ लाई सम्भावित विकल्पका रूपमा अघि बढाएको छ।
एन्ड्रुमा अमेरिकाको मास जेनेरल ब्रिघम अस्पतालमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले केही महिनासम्म नियमित डायलेसिसबाट मुक्ति पाए। तर २७१ दिनपछि प्रत्यारोपित मिर्गौलाले काम गर्न छाड्यो। त्यसपछि मानव मिर्गौला दाता नपाउन्जेल उनले पुनः डायलेसिस गर्नुपर्‍यो। एन्ड्रुका लागि भने त्यो नौ महिना केवल चिकित्सकीय प्रयोग थिएन, नयाँ जीवनको आशा थियो।
“मसँग निकै कम समय थियो। म निकै निराश भइसकेको थिएँ,” उनले आफ्नो अवस्थाबारे बताएका छन्। सुँगुरको मिर्गौला प्रत्यारोपणपछि भने उनको अनुभव फरक रह्यो।
“डायलेसिसबाट केही समय मुक्त हुँदै नयाँ जीवनको आशा मलाई सुँगुरको मिर्गौलाले दियो,” उनले भनेका छन्।
एन्ड्रु मधुमेहका कारण मिर्गौला फेल हुने अन्तिम चरणतर्फ पुगेका थिए। ६६ वर्षको उमेरमा उनलाई सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो।
मानव मिर्गौला प्रत्यारोपणका लागि उनले करिब सात वर्ष कुर्नुपर्ने अनुमान गरिएको थियो। तर लामो समयसम्म डायलेसिसमा निर्भर रहनुपर्ने अवस्थाले उनको स्वास्थ्य र जीवन दुवैमा ठूलो जोखिम थियो। औसतमा डायलेसिसले मानिसको आयु केही वर्ष मात्र थप्न सक्ने अवस्थामा एन्ड्रुका लागि सुँगुरको मिर्गौला एउटा वैकल्पिक बाटो बनेको थियो। प्रत्यारोपणपछि सुँगुरको मिर्गौलाले उनको शरीरबाट फोहोर पदार्थ हटाउने र रगत फिल्टर गर्ने काम गरेको थियो।
वैज्ञानिकहरूका अनुसार मानिसका लागि अन्य धेरै प्रजातिको तुलनामा सुँगुरका अंग आकार र कार्यका हिसाबले तुलनात्मक रूपमा उपयुक्तमानिन्छन्। तर सामान्य रूपमा पालिने सुँगुरको मिर्गौला मानिसमा सिधै प्रत्यारोपण गर्न सकिँदैन।
मानव शरीरको प्रतिरक्षा प्रणालीले बाहिरी अंगलाई पहिचान गरेर त्यसविरुद्ध तीव्र प्रतिक्रिया जनाउन सक्छ। यस्तो प्रतिरक्षा प्रतिक्रियाले अंगका कोषिका तथा रक्तनलीमा क्षति पुर्‍याएर प्रत्यारोपित अंगलाई असफल बनाउन सक्छ। त्यसैले वैज्ञानिकहरूले सुँगुरको आनुवंशिक संरचनामै परिवर्तन गरेर त्यसका अंगलाई मानव शरीरका लागि बढी अनुकूल बनाउने प्रयास गरिरहेका छन्। यसका लागि युकाटन जातका साना सुँगुर विकास गरिएको छ। तिनमा दर्जनौँ आनुवंशिक परिवर्तन गरिएका छन् ताकि मानव प्रतिरक्षा प्रणालीले प्रत्यारोपित अंगलाई तुलनात्मक रूपमा सहज रूपमा स्वीकार गरोस्। आनुवंशिक सुधारमार्फत सुँगुरका कोषिकामा रहेका मानव शरीरसँग नमिल्ने केही जैविक तत्त्व हटाइन्छन्। साथै, मानव प्रतिरक्षा प्रणालीसँग अनुकूल हुने विशेष आनुवंशिक परिवर्तन गरिन्छ। यस प्रक्रियाले प्रत्यारोपित अंगलाई शरीरले अस्वीकार गर्ने सम्भावना कम गर्ने वैज्ञानिकहरूको अपेक्षा छ।
एन्ड्रुको शरीरले सुरुमा सुँगुरको मिर्गौलालाई पूर्ण रूपमा सहज रूपमा स्वीकार गरेको थिएन। चिकित्सकहरूले प्रतिरक्षा प्रणालीलाई नियन्त्रण गर्ने औषधि प्रयोग गरेर प्रत्यारोपित मिर्गौलालाई शरीरसँग अनुकूल बनाउन प्रयास गरेका थिए। प्रत्यारोपणपछि करिब छ महिनामा मिर्गौलाका रक्तनलीमा समस्या देखिएको थियो। उपचार र औषधिको सहायताले त्यसलाई नियन्त्रणमा ल्याइएको थियो। पछि भने २७१ दिनमा मिर्गौलाले काम गर्न छाड्यो। त्यसको ठ्याक्कै कारण अझै स्पष्ट छैन। चिकित्सकहरूका अनुसार मिर्गौलामा एन्टीबडीले आक्रमण गरेको स्पष्ट प्रमाणसमेत देखिएको थिएन। मेडिकल जर्नल द ल्यान्सेटमा चिकित्सकहरूले यो घटनाले मानवमा मिर्गौलाको क्लिनिकल जेनोट्रान्सप्लान्टेसनको सम्भावना र चुनौती दुवै देखाएको उल्लेख गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

ब्रह्माण्डको विस्तार सुस्त !

२०८३ भाद्र २५ गते, बिहीबार

चीन विश्वकै ठूलो नौसैनिक शक्ति

२०८३ भाद्र ९ गते, मंगलवार

४ सय वर्ष पुरानो देवदारको रुख ढल्यो

२०८३ श्रावण १९ गते, मंगलवार