महिला कबड्डी :नेपाल भारतसँग पराजित
काठमाडौँ । २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा नेपाल ४८–२४ अंकले भारतसँग हारेको हो।
भारतले खेलको पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि भारतले १७–७ को अग्रता कायम राख्दै सहज जित निकालेको हो।
यससँगै नेपालले महिला कबड्डीमा कास्य पदकमा चित्त बुझाएको छ। यसअघि १९औँ एसियन गेम्सको सेमिफाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो। जारी प्रतियोगितामा नेपालले समूह चरणमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेईसँग हार बेहोरेको थियो। अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनल पुगेको थियो। जारी एसियन गेम्समा नेपालको यो दोस्रो पदक हो। यसअघि पुरुष करातेको ८४ केजी तौल समूहको कुमितेमा तेन्जिङ शेर्पाले नेपालका लागि कास्य पदक जितिसकेका छन्।
