अमेरिका ‘पीडादायक प्रहार’ सहेर मध्यपूर्व छाड्न बाध्य हुने !
काठमाडौँ । संयुक्त राज्य अमेरिका ‘पीडादायक प्रहार’ सहेर मध्यपूर्व छाड्न बाध्य हुने इरानका सर्वोच्च नेता मोजतबा खामेनीले सोमबार बताएका छन्। इरानी राष्ट्रिय टेलिभिजनले प्रसारित गरेको उनको वक्तव्यमा भनिएको छ, “संयुक्त राज्य अमेरिका ‘पीडादायक प्रहार’ सहेर मध्यपूर्व छाड्न बाध्य हुनेछ।”
खामेनीलाई फेब्रुअरीको अन्त्यमा मध्यपूर्वी युद्ध सुरु भएदेखि सार्वजनिक रूपमा देखिएको छैन। लडाइँ अन्त्य गर्ने वार्ता पुनः सुरु गर्ने प्रयासहरू भइरहेका बेला खामेनीका यो भनाइ सार्वजनिक भएको हो।
संयुक्त राज्य अमेरिकाको नाम स्पष्ट रूपमा नलिइकन उहाँको वक्तव्यमा भनिएको छ- “अहिले वीर योद्धाहरू र हर्मुज जलमार्गको रक्षकहरूका हातबाट ‘पीडादायक प्रहार’ सहेर भएपनि उनी (शत्रु) हरू अरब सागरभन्दा पर जान हिचकिचाइरहेका छन्। उनीहरूले यो जोखिम लिएका छन्, उनीहरूले आफैँलाई मात्र हानि पु¥याएका छन्। चाँडै नै अरब सागर पनि उनीहरूको उपस्थितिबाट मुक्त हुनेछ।”
अरब सागर, अरब प्रायद्वीपबाट पूर्वतिर भारतसम्म फैलिएको, इरानका तटहरू र हर्मुज जलमार्गमा पुग्ने महत्त्वपूर्ण समुद्री मार्ग हो।
फेब्रुअरीमा अमेरिका–इजरायली हमला इरानबाट सुरु भएदेखि मध्यपूर्वी युद्धमा इरान र संयुक्त राज्य अमेरिका हर्मुजको नियन्त्रणका लागि लडिरहेका छन् ।
युद्ध सुरु हुनुअघि यो रणनीतिक ढुवानी मार्गले विश्वको करिब पाँच भागको एक भाग तेल र ग्यास आपूर्तीमा योगदान गर्दै आएको थियो । तर युद्ध सुरु भएपछि तेहरानले हर्मुजमा नाकाबन्दी लगायो, जसका प्रतिक्रिया स्वरूप वासिङ्टनले इरानी बन्दरगाहहरूमा आफ्नो नाकाबन्दी लगाएको घोषणा गरेको थियो।
