चियामा कृत्रिम रङ र मिसावट गरे कारबाही
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चियामा कृत्रिम बाह्य रङ नमिसाउन व्यवसायीलाई आग्रह गरेको छ। विभागले अनुगमन निरीक्षणको क्रममा संकलित एउटा कम्पनीको चियाको नमुनालाई प्रयोगशालामा विश्लेषण परीक्षण गर्दा कृत्रिम बाह्य रङको मिसावट रहेको भेटिएपछि सूचना जारी गर्दै सो आग्रह गरेको हो ।
साई कृपा चियाको ब्याच नम्बर ८३डी ०५ एक किलोको प्याकेटमा मिसावट भेटिएपछि विभागले उक्त चिया बजारबाट फिर्ता लैजान व्यवसायीलाई आदेश दिएको थियो। उक्त उद्योगको उत्पादनहरु रोक्का राखी थप अनुसन्धान गरिरहेको छ।
उक्त घटनापछि चियामा कृत्रिम बाह्य रङ मिसाउने तथा अन्य मिसावटका कार्य नगर्न/नगराउन सबै उत्पादक, प्रशोधन-प्याकेजिङ कारोबारी एवम् बिक्री वितरकहरुलाई विभागले सूचीत गरेको हो। अन्यथा, खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ को व्यवस्था बमोजिम कारवाही हुने विभागले जनाएको छ।
