बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
काठमाडौँ । बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ। दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताए। आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए। चुमनुब्री गाउँपालिका-३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताए।
बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए।
यसैबीच, पूर्वानुमान महाशाखाले बूढीगण्डकी नदीमा आकस्मिक बाढीको सतह घटबढ भइरहेकाले नदी करिडोर क्षेत्रमा जोखिम कायमै रहेको जनाएको छ । महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार गोरखाको आरुघाटमा बूढीगण्डकी नदीको बाढीले बिहान ७ बजेर ५० मिनेटमा खतराको तह पार गरेको थियो । त्यसबेला नदीको सतह ५.१ मिटर पुगेको थियो । आरुघाटमा ५ मिटरलाई खतराको तह मानिन्छ ।
हाल बाढीको सतह खतराको तहभन्दा केही घटे पनि नदीको बहावमा उतारचढाव भइरहेकाले जोखिम नटरेको पराजुलीले बताए । नदी थुनिने र पुनः खुल्ने क्रमका कारण बाढीको सतह घटबढ भइरहेको हुन सक्ने उनको अनुमान छ ।
बूढीगण्डकी नदीको अधिकांश भाग साँघुरो रहेकाले बाढीको सतह पुनः बढेमा थप क्षति हुन सक्ने उनले बताए ।
जोखिम कायम रहेकाले बूढीगण्डकी करिडोर हुँदै त्रिशूली नदीको दोभानसम्मका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । नदी छेउछाउ नजान र सुरक्षित उच्च स्थानमा बस्न पनि सुझाव दिइएको छ ।
पराजुलीका अनुसार बेनीघाटभन्दा तल त्रिशूली नदी क्षेत्रमा भने बाढीको जोखिम तुलनात्मक रूपमा कम छ । हालको अवस्थालाई हेर्दा त्रिशूली नदीमा बाढीको सतह करिब एक मिटर बढ्न सक्ने अनुमान गरिएको उनले बताए ।
बूढीगण्डकीमा बाढीको सतह घटेको भए पनि पुनः बढ्न सक्ने सम्भावना रहेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
