युक्रेनद्वारा रुसको डेटा सेन्टरमा ड्रोन आक्रमण
काठमाडौँ । युक्रेनले रुसको प्रविधि कम्पनी यान्डेक्सद्वारा सञ्चालित प्रमुख डेटा सेन्टरमा शुक्रबार ड्रोन आक्रमण गरेको छ । रुसले युक्रेनका डेटा सेन्टरमा आक्रमण गरेको भन्दै त्यसको प्रतिकारमा युक्रेनले रुसभित्रका डिजिटल पूर्वाधारलाई निशाना बनाउने क्रम बढाएको हो ।
रुसको ‘गुगल’ भनेर समेत चिनिने यान्डेक्सले मस्कोको दक्षिणपश्चिममा रहेको कालुगा क्षेत्रमा आफ्नो डेटा सेन्टर युक्रेनी ड्रोनको आक्रमणमा परेको र आंशिक रूपमा सञ्चालनबाहिर गएको जनाएको छ ।
युक्रेनी हतियार निर्माता फायरपोइन्टले भने यान्डेक्सको सबैभन्दा ठूलो डेटा सेन्टरलाई निशाना बनाउन एफपी–१ एकतर्फी आक्रमणकारी ड्रोन प्रयोग गरिएको र त्यसका केही मोड्युल पूर्ण रूपमा निष्क्रिय भएको दाबी गरेको छ ।
यसअघि बिहीबार पनि युक्रेनी आक्रमणमा मस्कोको दक्षिणपूर्वमा रहेको यान्डेक्सको सासोभो डेटा हब बन्द भएको थियो । उक्त डेटा हबमा कम्पनीको एआई मोडल विकासका लागि प्रयोग हुने तीनमध्ये दुई सुपर कम्प्युटर रहेको बताइएको छ ।
यान्डेक्सका अनुसार आफ्ना सेवा सञ्चालनलाई निरन्तरता दिन कठिन चुनौती उत्पन्न भएको छ । कम्पनीका नेभिगेसन, संगीत, चलचित्र, खाना अर्डरलगायतका सेवा दैनिक लाखौं रुसीले प्रयोग गर्छन् । यान्डेक्सले धेरै व्यवसायलाई क्लाउड कम्प्युटिङ सेवा पनि उपलब्ध गराउँदै आएको छ । रुसको मस्को स्टक एक्सचेन्जमा यान्डेक्सको शेयर मूल्य शुक्रबार ४ प्रतिशतभन्दा बढीले घटेको थियो । कम्पनीले आफ्ना ग्राहकलाई डेटा र सेवा अन्य क्लाउड प्रदायकमा तत्काल स्थानान्तरण गर्न सकिने व्यवस्था मिलाउन अन्य क्लाउड प्रदायकसँग सम्झौता गरेको जनाएको छ ।
रुसमा यान्डेक्सको सेवा प्रयोग गर्ने केही अनलाइन प्लेटफर्मले समेत प्राविधिक समस्या देखिएको बताएका छन् । रियल इस्टेट एग्रिगेटर सियान, पुस्तक पोर्टल लिटमार्केट, रुसी रेलवेज र व्यावसायिक फुटबल क्लब स्पार्टक मस्कोका वेबसाइटमा बिहीबार प्राविधिक समस्या देखिएको समाचारमा उल्लेख छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार कालुगा डेटा सेन्टरमा भएको आक्रमण आफ्नो ‘जस्ताको तस्तै जवाफी कारबाही’ भएको पुष्टि गरेका छन् । उनका अनुसार रुसले पछिल्लो समय युक्रेनका डेटा सेन्टर तथा दूरसञ्चार पूर्वाधारलाई निशाना बनाउँदै आएको छ । चार वर्षभन्दा लामो युद्ध जारी रहँदा रुस र युक्रेन दुवैले ड्रोन आक्रमणको दायरा ऊर्जा पूर्वाधार र तेल प्रशोधन केन्द्रबाट बन्दरगाह, तेल तथा खाद्यान्न बोकेका पानीजहाज, ई–कमर्स गोदाम हुँदै पछिल्लो समय डेटा सेन्टरसम्म विस्तार गरेका छन् । यान्डेक्सका पाँच डेटा सेन्टरमध्ये दुई वटा पछिल्ला दुई दिनमा आक्रमणको निशानामा परेका छन् ।
