बंगलादेशमा फेरि हिंसा भड्कियो

२०८३ मंसिर ३ गते, बिहीबार

काठमाडौँ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि राजनीतिक तनाव चुलिएको छ । प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र पछि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन् । घटनामा मानवीय क्षतिसमेत भएको बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हिंसाका क्रममा युनुसको ग्रामीण बैंकका विभिन्न शाखा, राजनीतिक दलका कार्यालय तथा नेताहरूका निजी सम्पत्तिमाथि पनि आक्रमण भएको छ । प्रहरीका अनुसार पछिल्ला घटनामा कम्तीमा चार जना घाइते भएका छन् । राजधानी ढाकामा २४ घण्टे सुरक्षा अभियानका क्रममा ५६५ जनालाई पक्राउ गरिएको छ ।
चटगाउँको पञ्चलाइश क्षेत्रमा अज्ञात समूहले युनुसका पिताको घरमा आगो लगाएको हो । यसअघि देशका विभिन्न स्थानमा रहेको ग्रामीण बैंकका शाखाहरूमा पनि आगजनी गरिएको थियो ।
ढाकामा अवामी लिगका दुई नेताका घरमा आक्रमण र आगजनी भएको छ । त्यस्तै, बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कम्तीमा दुई कार्यालय र एक नेताको घरमा पनि आगो लगाइएको छ । पछिल्ला दुई दिनमा अवामी लिगका कम्तीमा दुई पार्टी कार्यालय र नेताहरूका पाँचवटा सम्पत्तिलाई समेत निशाना बनाइएको छ ।
देशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा सवारीसाधन जलाउने र दर्जनौँ कच्चा बम विस्फोट गराउने घटना भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु