अब एक सेकेन्डमै फिल्म डाउनलोड

२०७० बैशाख ३१ गते, मंगलवार


काठमाडौ , सामसुङ इलेक्ट्रोनिक्सले हालसम्मको तारविहीन सञ्चारमा सबैभन्दा द्रुत तथ्यांक आदानप्रदान गर्ने माध्यम पाँचौँ पुस्ताको प्रविधि विकास गर्न सफलता प्राप्त गरेको छ । यस प्रविधिले यसका प्रयोगकर्तालाई हालको एउटा चलचित्र ‘डाउनलोड’ गर्न एक सेकेन्डको समय भए पुग्ने बताइएको छ ।
दक्षिण कोरियाका ठूलो यस व्यापारिक संस्थाले दुई किलोमिटरको दूरीमा प्रतिसेकेन्ड एक गिगाबाइट बराबरको तथ्यांक आदान प्रदान गर्ने प्रविधि परीक्षण गरेको तथा सफलता प्राप्त गरेको जानकारी दिइएको छ ।
यसो भए पनि नयाँ प्रविधि व्यापारिक प्रयोजनका लागि सन् २०२० भन्दा अगाडि बजारमा आउननसक्ने देखिएको छ । यसले हालको चौथो पुस्ता (फोर जी) को प्रविधिभन्दा सयौँ गुणा बढी गतिले तथ्यांक प्राप्त गर्नसक्ने यस संस्थाले प्रकाशन गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । यसले व्यापक मात्रामा तथ्यांक तथा उच्च गुणस्तरको डिजिटल चलचित्र असीमित गतिमा प्राप्त गर्न सहयोग गर्ने दाबी गरिएको छ ।
यस प्रविधिले थ्रीडी चलचित्र तथा खेल र वास्तविक समयमा ‘अल्ट्रा हाइ डेफिनिसन’ सामग्री प्राप्त गर्न तथा दूर नियन्त्रित चिकित्सा सेवालाई सरल बनाउन सहयोग गर्ने अपेक्षा यस संस्थाले गरेको छ ।
हाल दक्षिण कोरियामा ‘फोर जी’ सञ्चारका दुई करोड प्रयोगकर्ता भएको अनुमान गरिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]