प्यारातालको वृत्तचित्र प्रदर्शन

२०७० जेष्ठ १६ गते, बिहीबार

कञ्चनपुर, । प्याराताल संरक्षण तथा संवद्र्धन उपभोक्ता समितिले प्यारातालको प्रचारप्रसारका लागि निर्माण गरिएको वृत्तचित्र कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरिएको छ । समितिले तालको जैविक विविधता प्रचार गरी पर्यटकीय गन्तव्य बनाउन सघाउ पु¥याउने उद्देश्यले वृत्तचित्र निर्माण गरेको हो ।जिल्ला विकास समितिको सहयोगमा निर्मित वृत्तचित्रमा प्यारातालको जैविक विविधता, ताल संरक्षणका प्रयास र प्रवद्र्धनका लागि दलहरुको भूमिकालाई वृत्तचित्रमा समेटिएको छ । परालजस्तै लाम्चो भएकाले प्याराताल नामकरण गरिएको ताल चार हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । झन्डै चार किलोमिटर लम्बाइको तालमा माछा, कछुवा, घडियाल, गोहीलगायतका जलचर पाइन्छ । भूमिगत स्रोतबाट पानी आउने हुँदा तालमा सधैँ पानी भरिएको हुन्छ ।
नागरिक आवाज साप्ताहिकका पत्रकार दीपेन्द्र बस्नेतले लेखन तथा सम्पादन गरेको वृत्तचित्र हिजो मङ्गलबार प्रदर्शन गरिएको हो । वृतचित्र प्रदर्शन कार्यक्रममा स्थानीय विकास अधिकारी लक्ष्मण ढकालले प्रचारप्रसारका लागि वृत्तचित्रबाट महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘सानो रकमबाट निर्माण गरिएको यो वृत्तचित्र प्रचारप्रसारमा सहयोग पुग्छ’ उनले भने, ‘आगामी दिनमा यसलाई निरन्तरता दिन आवश्यक छ ।’
भारतले नौ वर्षअघि ताल आफ्नो बनाउन तालभन्दा ६०० मिटर नेपाली भू–भागमा सीमास्तम्भ राखेको थियो । पछि नेपालीहरुले स्तम्भ भत्काएका थिए । ‘यस्तो विवादबीच तालले अरुलाई पनि ताल हाम्रै हो भन्ने देखाउँछ’, स्थानीय विकास अधिकारी ढकालले भने ।
वृत्तचित्र प्रदर्शन कार्यक्रममा प्याराताल संरक्षण संवद्र्धनका लागि १० बुँदे घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमा ताललाई पर्यटकीय गन्तव्य बनाउन सरोकारवालाका प्रतिबद्धता, संरक्षणमा स्थानीय समुदायलाई प्रोत्साहन गर्न साझा अभियान, प्याराताल भ्रमण वर्ष मनाउनेलगायतका कार्य प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार