सुनसान हुँदै छ सगरमाथा आधार शिबिर
सोलुखुम्बु, असार १ १ । हिमाल आरोहणको मुख्य याम मे महिनामा हजारौं व्यक्तिले टनाटन भरिने सगरमाथा आधार शिविर अहिले शून्य प्रायः छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल आरोहण गर्न गएका आरोहीहरु फर्किसकेकाले सगरमाथा आधार शिविर शून्य बनेको हो ।वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आउने आरोहीहरुले मे २९ भित्र आरोहण गरिसक्नुपर्ने र जुन १ भित्र आधार शिविर खाली गरिसक्नुपर्ने सरकारी नियमका कारण पनि आरोहीहरुले आधार शिविर छाड्नुपर्ने बाध्यता छ । करिब तीन महिना शिविर खडा गरी बसेका आरोहीहरु फर्किसकेको र आधारशिविरमा सगरमाथा पोलुसन कन्ट्रोल कमिटीका पदाधिकारी तथा केही अन्य व्यक्तिबाहेक कोही नभएको आधार शिविरका प्रवन्धक छिरिङ शेर्पाले बताए ।“सिजनमा त बजार जस्तै हुन्थ्यो, कोही तास खेल्ने, कोही काम गर्ने, कोही सामान ओसार्ने, बसुँ बसुँजस्तो लाग्थ्यो, अहिले त काम गर्ने जाँगरसमेत चल्न छाड्यो”, आधार शिविरको सरसफाइमा जुटिरहेका शेर्पाले भने ।
जुन महिनादेखि हिमालमा समेत तापक्रममा वृद्धि भई हिमपहिरो आउने तथा हिउँ पग्लने भएका कारण सुरक्षाका दृष्टिकोणले समेत आधार शिविर खाली गर्नुपरेको शेर्पाले बताए । सगरमाथाको सरसफाइ गर्ने जिम्मेवारी पाएको कमिटीले सगरमाथा क्षेत्रमा उत्पादित फोहरजन्य वस्तुलाई सम्बन्धित आरोहण दलले नै नाम्चेसम्म पुर्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । नाम्चेमा सङ्कलित फोहरलाई जल्ने तथा नजल्ने वस्तुमा विभाजन गरी कमिटीले यसको व्यवस्थापन गर्ने गरेको छ । जल्ने पदार्थलाई इन्सिनेटरमा जलाउने र नजल्ने तथा पुनः प्रयोगमा ल्याउन सकिने फोहरलाई कमिटीले काठमाडौँमा समेत पुर्याउने गरेको सगरमाथा पोलुसन् कन्ट्रोल कमिटीका सदस्य आङनुरु शेर्पाले बताए ।