विश्वमै दुर्लभ चीर भेटियो
जुम्ला, १८ असार । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा विश्वमै अति दुर्लभ मानिने पक्षी चीर भेटिएको छ ।नेपाल, भारत र पाकिस्तानमा मात्र पाइने चीर नामको चरा सो निकुञ्ज क्षेत्रमा करिब ३३ वटा रहेको निकुञ्जले जनाएको छ । वन्यजन्तु संरक्षण ऐनअन्तर्गत रहेर यसको संरक्षण कार्य तीव्र्ररुपमा थालिएको निकुञ्जका कामु संरक्षण अधिकृत भोगेन्द्र रायमाझीले जानकारी दिए । अधिकृत रायमाझीका अनुसार यस दुर्लभ पक्षीको संरक्षणका लागि विभिन्न सञ्चार माध्यमहरु तथा पर्चा पम्प्लेटबाट व्यापक प्रचारप्रसार भइरहेको छ । चीर नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष, र अपिनाम्पा संरक्षण क्षेत्रमा पाइन्छ ।
अहिले नेपालमा २७२ प्रजातिका चरा, ५१ प्रजातिका स्तनधारी र एक हजार २४ प्रजातिका वनस्पति पाइन्छन् । चीर संरक्षणका लागि सरोकारवाला निकायहरुले चासो देखाउनुको साथै यस अभियानलाई द्रूतगतिमा अगाडि बढाइरहेको छ ।
यसैबिच, रारा तालमा माछा मार्न गएका दुई जनालाई निकुञ्जमा रहेको दुर्गा भजन गुल्म हुटु मुगुले पक्राउ गरेको छ । गतअसार १२ गते समातिएका दुई जनामध्ये श्रीनगर–७ तलितुम बस्ने धनबहादुर रावल र पिना– ३ सिगडी बस्ने पदमबहादुर विटालु रहेका छन् । चोरी सिकारीलाई नेपाल सरकारवादी भएर तिनीहरुको कसुरको मात्रालाई हेरी रु १० हजारसम्म जरिवाना वा दुई वर्षसम्मको कैद वा दुवै गर्न सकिने व्यवस्था रहेको रारा राष्ट्रिय निकुञ्जका वन्यजन्तु संरक्षण अधिकृत भोगेन्द्र रायमाझीले जानकारी दिए ।अहिले रारा तालमा पाइने तीन प्रजातिका माछामध्ये सिजो थो¥याक्स र रारा एन्सिस रारामा मात्रै पाइन्छ तर नेपालेन्सिस र सिजोथो¥याक्स म्याक्रोपथाल्मोस जातको माछा नेपालको अन्यत्र नदीमा पाइने कामु संरक्षण अधिकृत रायमाझीले बताए ।