विद्युतीय सवारी नीति ल्याइदै

२०७० आश्विन २२ गते, मंगलवार

काठमाडौँ, २२ असोज । सरकारले सहरी व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन वातावरणअनुकूल सवारी साधन सञ्चालनका लागि चाँडै नेपालको सहरी रणनीति र विद्युतीय सवारी नीति ल्याउने भएको छ ।विश्व बसोबास दिवस–२०७० का उपलक्ष्यमा विभिन्न गैरसरकारी संस्थाको समन्वयमा सहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको ‘सहरी आवागमन’ विषयको कार्याशालामा भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले सो जानकारी दिएको हो ।मन्त्री छविराज पन्तले सहरी सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माण गर्दा विज्ञसँग छलफल गरी वातावरणमैत्री सडक निर्माण गर्न अपरिहार्य भइसकेको र सोअनुसार रणनीति बनाउन जरुरी भएको बताए ।विकास मन्त्रालयका निमित्त सचिव सुरेशप्रकाश आचार्य र सहसचिव डा महेन्द्र सुब्बाले सहरी आवागमन सहरी विकासको स्नायु प्रणाली हो भन्दै सडक विस्तार र साधनभन्दा भौतिक पूर्वाधारलाई जोड दिनुपर्ने बताए ।
काठमाडौंँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त योगेश्वरकृष्ण पराजुलीले सहरी आवागमनका लागि सडक, साधन र भवन मात्र नभई पाँच प्रमुख सिद्धान्त स्वच्छ, सुरक्षित, सुन्दर, व्यवस्थित र सम्मृद्धिको अपरिहार्यता भएको उल्लेख गरे ।सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसीले विश्वका कुल जनसङ्ख्यामध्ये एक करोड जनसङ्ख्या सहरी क्षेत्रमै रहेको आँकडा प्रस्तुत गर्दै दिगो सहरी व्यवस्थापनका लागि एकीकृत रुपमै सहरी विकास योजना अघि नबढाइए थप समस्या आउने बताए ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले सहरी व्यवस्थापनका लागि भौतिक पूर्वाधारको योजनावद्ध विकास तथा सहरी आवागमनका उचित योजनालाई प्राथमिकताकासाथ अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।वातावरणविद् भूषण तुलाधरले सहरी आवागमनको सम्भावना र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्दै सहरी व्यवस्थापनका लागि सडक विस्तारसँगै फुटपाथ, साइकल लेन र जेब्राक्रसिङको व्यवस्था गरिनुपर्ने औँल्याए ।
युएन ह्याबिट्याटका नेपाल प्रमुख पद्मसुन्दर जोशीले अहिले सरकारले गरिरहेको सडक विस्तारका क्रममा फुटपाथ र साइकल लेनको विस्तारलाई अझै विस्तृत गरेर लैजानुपर्ने सुझाव दिए ।सो अवसरमा विभागद्वारा प्रकाशित ‘सहरी विकास’ विशेषाङ्क र वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो भने दिवसकै उपलक्षमा आयोजित चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । सहभागी २० विद्यालयमध्ये एसियन पब्लिक स्कुलकी ममता आचार्य प्रथम, परोपकार उच्च माविका गणेश, द्वितीय, अमरेश खरेल तृतीय र अनुसार श्रेष्ठले सान्त्वना पुरस्कार पाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]