ट्रकले ठक्कर दिँदा १२ तीर्थयात्रीको मृत्यु, २७ घाइते

२०८३ कार्तिक २ गते, आईतवार


काठमाडौँ । भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका अनुसार आइतबार बिहान करिब १:३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले ठाडो ओरालोमा नियन्त्रण गुमाएको थियो। उक्त सडकमा भारी सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको भए पनि ट्रकले प्रहरीका अवरोध तोड्दै तीर्थयात्रीहरूलाई ठक्कर दिएको थियो। त्यसपछि ट्रक मन्दिरको बाहिरी पर्खाल र ढोकामा समेत ठोक्किएको थियो।
दुर्घटनापछि ३९ जनालाई अस्पताल पुर्‍याइएको र तीमध्ये १२ जनाको मृत्यु भएको सिंहले जानकारी दिएका छन्। उक्त घटनामा ड्युटीमा रहेका दुई जना प्रहरी कर्मचारीसमेत घाइते भएका छन्।
ग्वालियरकी जिल्ला अधिकारी रुचिका चौहानले उद्धारका लागि तत्काल एम्बुलेन्स र अन्य सवारीसाधन पठाइएको बताएकी छन्। दुर्घटनाको कारण पत्ता लगाउन ट्रकको प्राविधिक परीक्षण गरिने र नवरात्रका बेला राखिएका प्रहरी अवरोध तथा जाँच चौकी पार गरेर ट्रक कसरी उक्त सडकमा प्रवेश गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको चौहानले जानकारी दिएकी छन्। एक प्रत्यक्षदर्शीका अनुसार ट्रकमा क्षमताभन्दा बढी भार रहेको र त्यसले पसल तथा मानिसहरूलाई ठक्कर दिएको थियो। ती प्रत्यक्षदर्शीका भाइसमेत सोही दुर्घटनामा परी घाइते भएका छन्।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]