पूर्वीनाकाबाट १८ अर्ब ६२ करोडको कृषिजन्य वस्तु निर्यात

काठमाडौँ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको ९ महिनामा १८ अर्ब ६२ करोड ७६ लाख ९६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।
कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैंची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त ९ महिनाको अवधिमा सबैभन्दा धेरै चिया ८ अर्ब ४१ करोड ८९ लाख रुपैयाँ, अलैंची ५ अर्ब ६३ करोड २० लाख रुपैयाँ, प्लाइ तथा भेनियर २ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ ।
यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा २७ करोड २१ लाख रुपैयाँ, अम्लिसो ८७ करोड २१ लाख रुपैयाँ, बन्दा ८ करोड १७ लाख रुपैयाँ, जडिबुटी ४ करोड ५८ लाख रुपैयाँ, मुसुरो दाल ४ करोड रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ ।
सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट २ अर्ब ७० करोड ६८ लाख २६ हजार रुपैयाँ मूल्य बराबरको कृषि जन्य मालबस्तु आयात भएको छ ।
आयत हुने मुख्य कृषिजन्य बस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् ।
क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १४ करोड ४५ लाख ७६ हजार रुपैयाँ, चामल ६ करोड १ लाख रुपैयाँ, ताजा तरकारी ३४ करोड ४ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ ।
यसैगरी ताजा फलफुल ३१ करोड ८० लाख रुपैयाँ, लसुन ६३ करोड ८० लाख रुपैयाँ, आलु ३६ करोड ४९ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।