झण्डै १५ खर्बको वस्तु आयात
काठमाडौँ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (आव)को चैत मसान्तसम्म नेपालमा १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन आयात गत आवको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढी हो । अघिल्लो आवको सो अवधिमा नेपालमा १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
त्यस्तै, सो अवधिसम्म नेपालबाट २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख २४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन निर्यात गत आवको सोही अवधिको तुलनामा १८.४६ प्रतिशतले बढी हो । गत आवको नौ महिनामा नेपालबाट एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
विभागका अनुसार समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल आयात भएको छ । सो अवधिमा १ खर्ब ३ अर्ब ३१ करोड ११ लाख ३१ हजार रुपैयाँको डिजेल आयात भएको हो । त्यस्तै, सो अवधिमा ९६ अर्ब ७२ करोड २९ लाख २६ हजार रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ र ५० अर्ब ३९ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको पेट्रोल र ४१ अर्ब ६४ करोड ९८ लाख ५६ हजार रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको विभागले जनाएको छ ।
