आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुँदै
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्न लागेकाे छ । हरेक वर्ष जेठ १५ गते बजेट घोषणा गर्नुपर्ने संवैधानिक प्रावधान छ । साेही अनुसार दुई तिहाई नजिकको सरकारले ल्याउने पहिलो बजेटमा सबैको चासो रहेको छ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाचापत्रलाई टेकेर बजेट ल्याइने बताउँदै आउनुभएको छ । चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइएको थियो । यसपटक भने केही महत्वकांक्षी कार्यक्रम राखेर अर्थमन्त्री वाग्लेले चालु बजेट भन्दा २–३ खर्ब बढिको बजेट ल्याउन लाग्नुभएको बुझिएको छ ।
बजेट निर्माणमा संलग्न अधिकारीहरुले दिएको जानकारी अनुसार बजेटमा खासगरी सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिँदैछ । रास्वपाले आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने लक्ष्यसहित वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने, ७ वर्षभित्र नेपालको अर्थतन्त्रलाई सय अर्ब अमेरिकी डलर बराबरको बनाउने तथा ३० अर्ब डलर बराबरको आईटी सेवा निर्यात गर्ने लक्ष्य वाचा गरिसकेकाले सोही वाचालाई पूरा गर्ने हिसावले बजेटमा कार्यक्रम राखिँदैछ ।
बजेटमा स्रोतको चर्को चापका कारण यसवर्ष सामाजिक सुरक्षा भत्ता बढाउने तयारीमा सरकारी अधिकारीहरुले गृहकार्य गरेका छैनन् भने लामो समयदेखि बढ्न नसेकेको निजामती कर्मचारीको पारिश्रमीक बढाउने अन्तिम गृहकार्य अर्थ मन्त्रालयले गरेको बुझिएको छ ।
