मेडिकल काउन्सिलद्वारा वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले २०८२ सालमा लिइने परीक्षाको वार्षिक तालिका प्रकाशित गरेको छ । तालिका अनुसार स्नातक तहको दर्ता प्रमाणपत्र परीक्षा पहिलो दिन २०८२ साल जेठ १२, १३ र १४ गते हुनेछ । दोस्रो परीक्षा २०८२ साल असोज ८, ९ र १० गते हुने छ भने अन्तिम परीक्षा २०८२ साल माघ १३, १४ र १५ गते हुनेछ ।
स्नातकोत्तर तहको विशेष परीक्षा पहिलो दिन २०८२ साल साउन १५ र १६ गते हुने छ । दोस्रो परीक्षा २०८२ साल मङ्सिर १६ र १७ गते हुने छ । यस्तै तेस्रो परीक्षा २०८२ साल चैत्र १९ र २० गते हुनेछ ।
पहिलो नाम दर्ता परीक्षाका लागि २०८१ चैत्र ३० गतेदेखि २०८२ वैशाख २८ गतेसम्म नियमित र वैशाख २९ र ३० गते विलम्ब शुल्कसहित अनलाइन आवेदन गर्न सूचित गरिएको छ । अनलाइन माध्यमबाट बुझाएको बाहेक आवेदन फाराम र शुल्क मान्य नहुने उल्लेख छ । विदेशी कलेजमा भर्ना भई कोभिडका कारण नेपालमा इन्टर्नसिप गरिरहेका विद्यार्थीले परीक्षामा सामेल हुनका लागि इन्टर्नसिप पूरा गरेको र आफू भर्ना भएको विश्वविद्यालयबाट इन्टर्नसिपसहित अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने बताइएको छ ।