‘मानवअधिकार, शिक्षा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा गर’
काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनहरूले विज्ञप्ति जारी गर्दै सरकारलाई मानवअधिकार, शिक्षा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षामा जिम्मेवार बन्न आग्रह गरेका छन् ।
संयुक्त विद्यार्थी सङ्गठन विज्ञप्तिमा सुकुम्वासी बस्ती हटाउने क्रममा सरकारले बिना तयारी बल प्रयोग गर्दा मानवअधिकार उल्लङ्घन भएको, जनधनको क्षति भएको र पीडितहरूमा गम्भीर संकट सिर्जना भएको उल्लेख गर्दै यस्ता गतिविधि तुरुन्त रोक्न र प्रभावितहरूको उचित व्यवस्थापन गर्न माग गरिएको छ ।
विज्ञप्तिमा सामुदायिक विद्यालयहरूमा डोजर चलाइएको घटनाप्रति आपत्ति जनाउदै विद्यालय भत्काउँदा विद्यार्थीहरूको पढ्न पाउने अधिकार हनन भएको भन्दै सरकारको लापरवाहीको आलोचना गर्दै वैकल्पिक व्यवस्थाको सुनिश्चितता गर्न आग्रह गरिएको छ ।
यसैगरी, विज्ञप्तिमा लिपुलेक–कालापानी क्षेत्रमा भारत र चीनका गतिविधिप्रति पनि चिन्ता व्यक्त गरिएको छ। नेपालको अनुमति बिना भएको भनिएको गतिविधिप्रति सरकार मौन बसेको भन्दै असन्तुष्टि जनाउँदै तत्काल कूटनीतिक पहल गर्न आग्रह गरिएको छ । साथै सगरमाथा आधार शिविर क्षेत्रमा अनुमति बिना विदेशी व्यक्तिहरूद्वारा ड्रोन प्रयोग गरिएको विषयलाई राष्ट्रिय सार्वभौमिकतामाथिको चुनौतीका रूपमा उल्लेख गर्दै घटनाको छानबिन र सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ ।

