त्रिवि कार्यकारी परिषद् सदस्यको मनोनयन

२०८३ श्रावण १५ गते, शुक्रबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद् सदस्यको मनोनयन गरिएको छ । त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले कार्यकारी परिषद् सदस्यमा चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहनराज शर्मा, कानुन संकायका डिन प्रा.डा. दिननाथ पराजुली, भू-गोल केन्द्रीय विभागका प्रा.डा. कन्हैया सापकोटा र वनस्पति केन्द्रीय विभागका प्रा.डा. विजया पन्तलाई मनोनयन गरिएको जानकारी दिए । उनका अनुसार नाम सिफारिस गर्न मनोनयन समिति गठन गरिएको थियो । समितिले सिफारिस गरेको आधारमा त्रिविको कार्यकारीले मनोनय गर्ने निर्णय गरेको हो ।
कार्यकारीमा उपकुलपति अध्यक्ष, शिक्षाध्यक्ष सदस्य, अध्ययन संस्थानका डिनहरूमध्येबाट एक जना सदस्य, सङ्कायका डिनहरूमध्येबाट एक जना सदस्य, विश्वविद्यालयका शिक्षकहरूमध्येबाट दुई जना सदस्य र रजिस्ट्रार सदस्य सचिव रहने प्रावधान छ । कार्यकारीले पूर्णता नपाउँदा महत्त्वपूर्ण निर्णय रोकिएको थियो ।
कार्यकारी सदस्यको मनोनयन भएसँगै परिषद् बैठक बस्ने तयारी भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]