बहुगुणकारी तुलसीको महिमा
काठमाडौँ । तुलसी प्राकृतिक, पवित्र तथा बास्नादार वनस्पति हो । हिन्दु धर्मावलम्बीहरूको घरको आँगनमा सानो मन्दिर (मठ) बनाई तुलसी रोपिन्छ । वास्तवमा तुलसी भारतीय खण्डमा उत्पत्ति भएको मानिन्छ तर, दक्षिण–पूर्व एसियाका प्रायः मुलुकहरूमा धार्मिक एवं परम्परागत रूपमा तुलसीको खेती गरी अर्चना गरिन्छ । तुलसीलाई विष्णुको अवतारका रूपमा लिइन्छ भने लक्ष्मीको प्रतिमूर्तिका रूपमा मानिन्छ । त्यसकारण तुलसीलाई सफा मन्दिर बनाई रोपेर पूजा गरिन्छ । तुलसी रोप्ने स्थान (सानो स्थल)लाई ‘मैरी’ वा ‘मठ’ पनि भनिन्छ । आषाढ शुक्ल पक्षको एकादशीका दिनदेखि शयन गर्ने हुँदा सोही दिनको शुभसाइतमा तुलसी रोपिन्छ भने कात्तिक शुक्ल पक्ष एकादशीका दिन भगवान् विष्णुसँग तुलसीको विवाह गरिन्छ ।
तुलसीको बीउलाई ज्येष्ठ शुक्ल पक्षमा पर्ने निर्जला एकादशीका दिनको साइत पारेर रोपिन्छ । अनि आषाढ शुक्ल पक्षमा पर्ने एकादशीका दिन तुलसी रोपिन्छ, यसै दिनदेखि भगवान् हरिशयन गर्नुहुन्छ, त्यस कारण यसलाई हरिशयनी एकादशी भनिएको हो । हरिशयनी एकादशीका दिन रोपिएका तुलसीलाई भगवान् शयनबाट ब्युँझेको दिन अर्थात् हरिबोधिनी एकादशीका दिन ठूलो, लामो साल, सल्लो वा बाँसको लिङ्गो तुलसीको मठको नजिकै गाडिन्छ, अनि बेमरा, पूmलको मालासहित तुलसीको विवाह गरिदिने प्रचलन छ, यसलाई ‘तुलसी विवाह’ भनिन्छ ।
तुलसी आयुर्वेदिक औषधियुक्त प्रतिजैविक जडीबुटी हो । यसको जरादेखि काण्ड, पात, पूmलका साथै बीउसमेतले विभिन्न स्वास्थ्य समस्यामा फाइदा पु¥याउँछ । तुलसीका पातलाई मह तथा अदुवामा मिसाएर सेवन गरेमा रुघाखोकी, श्वासप्रश्वासलगायत फोक्सोको सङ्क्रमणमा अत्यन्त फाइदा हुन्छ । तुलसीका पात चियामा राखेर खाएमा पनि फाइदा हुन्छ । तुलसीका हरेक भागले पखाला, आउँ–रगत, औँलो ज्वरो, बाथ, चर्मरोग, आँखाको सङ्क्रमण, कीटजन्य रोगमा औषधिको काम गर्छन् । तुलसीमा रोगसँग लड्नसक्ने क्षमता हुनेहुँदा मुखमा देखिन सक्ने सङ्क्रमण, दुर्गन्ध, गिँजामा सङ्क्रमण, पाचन प्रणाली, खानाको रुचिमा वृद्धि, कलेजोको समस्या, पाचनक्रियामा आवश्यक रस उत्पादन, दमको समस्या, मुटुरोग, रगतमा चिनीको समस्या, क्यान्सर, चिन्ता तथा मनोरोगमा समेत लाभदायक छन् । तुलसी भिटामीन ए, सी, के तथा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, प्रोटिन, फलाम, पोटासियम तथा फाइबर (रेशा) प्रशस्त पाइने अत्यन्त फाइदाजनक वनस्पति हो । काँचको खाली ग्लासमा तुलसीका पाँचवटा पात राखेर पानी भरी राखेर सुत्ने कोठामा राख्ने र भोलिपल्ट बिहान पानी पिउनुका साथै पात चपाउँदा शारीरिक एवं मानसिक फाइदासमेत हुन्छ । तुलसीले हाम्रो शरीरलाई रसायन, विषाक्त, धातुबाट उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यामा निकै फाइदा हुन्छ । यो वनस्पति दीर्घ शारीरिक तथा मानसिक थकानमा पनि अत्यन्त उपयोगी हुन्छ ।
तुलसीको नियमित सेवनले अनेकौं स्वास्थ्य लाभ मिल्छ । खासगरी श्वासप्रश्वास प्रणालीमा यसले राम्रो प्रभाव पार्छ । श्वासप्रश्वास प्रणालीको झिल्लीमा स्वास्थ्यप्रद प्रभाव पार्न तुलसीमा अद्भूत क्षमता हुन्छ । त्यसो त अरू थुप्रै औषधीय गुणले भरिपूर्ण वनस्पति, तुलसी । धेरैको घर आँगनमा त तुलसी रोपिएकै हुन्छ । आयुर्वेदमा यसको खास महत्व छ । त्यसैले तुलसीलाई पुज्ने गर्छौं, जो मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ । विधिपूर्वक नियमित रुपमा तुलसी सेवन गर्ने व्यक्तिलाई रोगको संक्रमण हुँदैन । तुलसी सेवन गरिरहँदा अनेकौं रोगबाट सुरक्षित भइन्छ । यद्यपि त्यसका लागि विधि भने थाहा हुनुपर्छ ।
बिहान खाली पेटमा चार–पाँच तुलसीको पात सेवन गर्नुपर्छ । यो पातलाई दुई चम्चा पानीसँग वा पिसेर सेवन गर्न सकिन्छ । त्यसो त चार–पाँचवटा पात चपाए पनि फाइदा गर्छ ।
१. तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । कफ निकाल्छ । छातीको दुखाइ पनि कम गर्छ ।
२. तुलसीको प्रयोगले ज्वरोको समस्या पनि हुँदैन । निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चामा पानीमा घोलेर केही दिन पिउनुपर्छ ।
अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ । सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ । राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति सख्खर हालेर सेवन गर्नुपर्छ । यसले टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वासनली बन्द भएको समस्यामा ठिक गर्छ ।
तुलसीलाई दूधसँग पनि मिसाएर सेवन गर्न सकिन्छ । यसरी तुलसी र दूधको मिश्रण बनाउँदा त्यसले थप लाभ गर्छ । खासगरी यस्तो मिश्रण खाली पेटमा सेवन गर्नुपर्छ । साससम्बन्धी रोगमा फाइदा–यदि कसैलाई दम वा श्वासप्रश्वाससम्बन्धी समस्या छ भने दूध र तुलसी सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दूध र तुलसी सेवन गर्दा फाइदा मिल्छ ।
टाउको दुखाइमा–टाउको दुख्ने समस्या छ भने पनि तुलसीको पात र दूधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई ठीक गर्छ । माइग्रेनजस्तो समस्यामा पनि यो लाभदायक हुन्छ ।
मुटुलाई स्वस्थ्य राख्ने–जसलाई मुटुसम्बन्धी समस्या छ, उनीहरूले बिहान खाली पेटमा दूध र तुलसी सेवन गर्नुपर्छ । तनाव हटाउँछ–यस किसिमको पेयले स्नायु प्रणालीलाई आनन्दित तुल्याउँछ । त्यसले तनावको स्तर कम गर्छ । डिप्रेसन वा चिन्ताको अवस्थामा तुलसी र दूधको मिश्रण सेवन गर्नुपर्छ ।
