‘स्वास्थ्य क्षेत्रमा उच्च सतर्कता अपनाऔँ’

२०८३ कार्तिक ११ गते, बुधबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग एवम् विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न भागमा चट्याङ र हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूलाई उच्च सतर्कता अपनाउन र पूर्वतयारी तथा प्रतिकार्यका कामलाई प्रभावकारी बनाउन आग्रह गरेको छ।
प्राधिकरणले सम्भावित बाढी, पहिरो र डुबानको जोखिमबारे सचेत गराएसँगै स्वास्थ्य क्षेत्रको तयारी सुदृढ बनाउन परिपत्र जारी गर्दै सो आग्रह गरेको हो। एकाइका प्रमुख डा. हेमन्तचन्द्र ओझाद्वारा जारी परिपत्र अनुसार पूर्वतयारीका लागि चौबीसै घण्टा सम्पर्कमा रहने गरी प्रत्येक प्रदेशमा एक जना आपत्कालीन सम्पर्क व्यक्ति तोक्न, निजको विवरण एकाइमा उपलब्ध गराउन र सार्वजनिक गर्न भनिएको छ।
त्यसैगरी, दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ मार्फत घटनाको विवरण अनिवार्य रूपमा पठाउन पनि आग्रह गरिएको छ। सम्बन्धित हब तथा स्याटेलाइट अस्पताल सञ्जालहरूसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोलीसहित आवश्यक स्वास्थ्य जनशक्तिलाई जुनसुकै बेला खटिन सक्ने गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
साझेदार निकायहरूसँग समन्वय गरी उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य स्रोतसाधनको विवरण तत्काल अद्यावधिक गर्न भनिएको छ भने प्रभावित नागरिकलाई समयमै स्वास्थ्य सेवा पुर्याउन प्रदेशस्थित एम्बुलेन्स प्रेषण केन्द्रहरूसँग निरन्तर समन्वय गरी एम्बुलेन्स सेवाको शीघ्र, सहज र प्रभावकारी परिचालन सुनिश्चित गर्न आग्रह गरिएको छ।
सम्भावित विपद्का बेला स्वास्थ्य सेवा प्रवाहमा कुनै अवरोध नहोस् र प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्य परिचालन गर्न सकियोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालय मातहतका निकायहरूलाई यो निर्देशन दिइएको हो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

इबोलाविरुद्धको खोप परीक्षण सुरु

२०८३ कार्तिक ८ गते, आईतवार

औषधि पसलबाट लागुऔषध कारोबार !

२०८३ कार्तिक ७ गते, शनिबार