‘सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सैन्य परेड आपत्तिजनक’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएकोमा आपत्ति जनाएको छ । सो पार्टीका
महासचिव विप्लव सीले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली जनता र राजनीतिक दलहरूको सहमति बिना रहस्यमय ढंगले अमेरिकी सेनालाई परेडमा सहभागी गराएर राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथि गम्भीर खेलबाड गर्ने काम भएको बताएका छन्।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘२०८२ फागुन ३ गतेका दिन नेपाली सेना दिवसको अवसरमा सैन्य मंच काठमाण्डौंमा अमेरिकी सेनाले परेड खेलेको दृश्यले हाम्रो मात्र होइन सारा नेपाली जनताको ध्यान केन्द्रीत गरेको छ । अमेरिकी हस्तक्षेपबारे अनेकौं विवाद चलिरहेको स्थितिमा नेपालका राजनीतिक दल र नेपाली जनताको जानकारी एवं सहमति बिना यसरी रहस्यमय तरिकाले सैन्य परेड खेल्नु र खेलाउनु राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथिको
गंभीर खेलवाड हो । हामी यस्तो घातक कार्य गर्ने गराउने दुवै तत्वको घोर भर्त्सना गर्दछौं । यस घटना बारे राज्यको धारणा यथासिघ्र सार्वजनिक गर्न माग गर्दछौं । साथै देशको स्वाधीनता दिन प्रतिदिन खतरामा पर्दै गएको सन्दर्भमा यस्ता कार्यप्रति सजक रहन र आवश्यकता अनुरुप प्रतिरोधका निम्ति तयार रहन आम नेपाली जनतालाई विशेष आह्वान गर्दछौं ।’
यसैगरी, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले समेत टुँडिखेलको दृश्यबारे ‘विदेशी सेनाको नांगो नाच’ भन्दै टिप्पणी गरेका थिए । विवादबारे नेपाली सेनाले भने विदेशी सेनाको प्रस्तुति सैनिक कूटनीति र सम्बन्ध विस्तारको परम्परागत अभ्यास भएको जिकिर गरेको छ ।

