मनसुन बाहिरियो

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार अन्य भूभागमा मनसुनको प्रभाव कायम छ । बाँकी क्षेत्रहरूबाट पनि मनसुन बाहिरिन अब धेरै दिन नलाग्ने उनले बताए ।
पूर्वी भूभागबाट भित्रने मनसुन पश्चिमी भूभागबाट बाहिरिन्छ । नेपालमा एक दिन ढिला गरी जुन १४ (जेठ ३१ गते) मनसुन भित्रिएको थियो । सामान्यतया अक्टोबर २ सम्म मनसुन बाहिरिन्छ । तर यसपालि पाँच दिन ढिला गरी देशका आंशिक क्षेत्रबाट मनसुन बाहिरिएको हो ।
मनसुन बाहिरिएपछि सुदूरपश्चिमी भूभागमा तत्काल पानी पर्ने सम्भावना छैन । देशैभरी पनि लामो झरी पर्ने र भारी वर्षा हुने सम्भावना पनि नरहेको मौसमविद् अधिकारीले बताए ।
महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।