चीनद्वारा विश्वकै तीव्र गतिको रेलको नमूना सार्वजनिक

काठमाडौँ । चीनले ‘नेक्स्ट जेनेरेसन’ उच्च गतिको रेलको नमूना सार्वजनिक गरेको छ, जुन विश्वकै तीव्र गतिको हुने दाबी गरिएको छ। डिसेम्बर २९ मा बेइजिङमा सार्वजनिक गरिएको सीआर-४५० नामक यस रेलले परीक्षणका क्रममा ४५० किलोमिटर प्रति घण्टाको गतिमा गुडेको थियो। यसले व्यावसायिक रूपमा ४०० किलोमिटर प्रति घण्टाको गति कायम गर्न सक्ने चीनको यातायात मन्त्रालयले जनाएको छ।
व्यावसायिक सेवा सुरु भएपछि यो रेल विश्वकै तीव्र गति हुन सक्नेछ। २०१७ मा सार्वजनिक भएको सीआर-४०० हालको सबैभन्दा तीव्र गतिको रेल हो, जसको गति ३५० किलोमिटर प्रति घण्टा छ।
सीआर-४५० मोडेललाई यसको उत्कृष्ट संचालन गति, ऊर्जा दक्षता, ध्वनि नियन्त्रण र ब्रेकिङ प्रदर्शनका लागि निर्माणकर्ताहरूले प्रशंसा गरेका छन्। यो रेल सीआरआरसी चाङचुन रेलवे भेहिकल्स र सीआरआरसी सिफाङ को लिमिटेडले बनाएका हुन्।
व्यावसायिक संचालनका लागि आवश्यक मापदण्ड पूरा गर्न यो रेलले ३ हजारभन्दा बढी सिमुलेसन परीक्षण र २ हजारभन्दा बढी प्लेटफर्म परीक्षण पार गरिसकेको छ। यसमा थप परीक्षण र परिष्करण कार्यहरू आवश्यक पर्ने चाइना स्टेट रेलवे ग्रुपले जनाएको छ।
पछिल्लो दशकमा रेल विकासमा चीन विश्वकै अग्रणी राष्ट्र बनेको छ। देशभर करिब १ लाख ६० हजार किलोमिटर रेल नेटवर्क निर्माण गरिएको छ, जसमा ४६ हजार किलोमिटरभन्दा बढी उच्च गतिको रेल लाइनहरू समावेश छन्। चीनको यातायात मन्त्रालयका अनुसार यी रेल मार्गहरूले देशका सबै प्रमुख सहर र ग्रामीण क्षेत्रहरूलाई जोड्ने काम गरिरहेका छन्। लामो समयदेखि ७०० माइलसम्मको दूरीका लागि हवाई यात्राको प्रभावकारी विकल्पका रुपमा उच्च गतिको रेललाई लिइदै आएको छ। यसले प्रमुख सहरहरू र ग्रामीण क्षेत्रहरूबीच सजिलो र आरामदायक रूपमा यात्रुहरूलाई आवतजावत गराउन मद्दत पुर्याइरहेको छ।
सन् १९८० को दशकदेखि जापानको शिन्कानसेन र फ्रान्सको ट्रेन अ ग्रान्ड वाइटेसे (टीजीभी) द्वारा सुरू गरिएको उच्च गतिको र उच्च क्षमता भएको रेल प्रणालीमा युरोप र एसियामा अरबौं डलर लगानी गरिएको छ। चीनको नयाँ सीआर-४५० मोडेलले यस क्षेत्रमा नयाँ मानक स्थापना गर्ने विश्वास गरिएको छ। – एजेन्सी