‘मेटा’ले १० प्रतिशत कर्मचारी कटौती गर्ने !

२०८३ बैशाख ५ गते, शनिबार


काठमाडौँ । मेटाले करिब १० प्रतिशत अर्थात् झन्डै ८ हजार कर्मचारीलाई हटाउने तयारी गरेको बताइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मेटाले यो वर्ष दुई चरणमा कटौती गर्ने योजना रहेको जनाएको छ । पहिलो चरण मेमा हुने छ भने दोस्रो चरण वर्षको उत्तरार्धमा हुने सम्भावना छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विकाससँगै व्यवस्थापकीय तह घटाउने रणनीति अपनाएपछि यस्तो निर्णय आएको हो ।
मेटाले एआई प्रविधिमा ठूलो लगानी गर्दै इन्जिनियरहरूलाई नयाँ विभागमा स्थानान्तरण गरेको छ । एआई प्रयोगबाट काम कम जनशक्तिमा छिटो हुने भएकाले कम्पनीले संरचना परिवर्तन गर्दै कर्मचारी कटौती गरेको हो ।
यसैबीच अमेजन र ‘ब्लक’ जस्ता अन्य प्रविधि कम्पनीहरूले पनि ठूलो संख्यामा कर्मचारी हटाएका छन् । तथ्यांक अनुसार यस वर्ष मात्रै विश्वभर ७३ हजारभन्दा बढी प्रविधि क्षेत्रका कर्मचारीले जागिर गुमाइसकेका छन् । मेटाका लागि यो पछिल्लो समयको ठूलो पुनर्संरचना हो । आर्थिक रूपमा सबल रहँदै पनि कम्पनीले एआई केन्द्रित भविष्यको रणनीतिअनुसार जनशक्ति घटाउने नीति अघि सारेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]