एआईमार्फत नयाँ भाइरस विकास :उपचारमा नयाँ युगको सुरुवात कि सुरक्षा चुनौती ?

२०८३ श्रावण २४ गते, आईतवार

काठमाडौँ । अमेरिकी अनुसन्धानकर्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट नयाँ भाइरस विकास गरेका छन्। अनुसन्धाताका अनुसार ती भाइरस प्रयोगशालामा आफ्नो संख्या बढाउन पूर्ण रूपमा कार्यशील छन्। एआई प्रयोग गरेर सम्पूर्ण जीनोम सफलतापूर्वक डिजाइन गरिएको यो पहिलोपटक हो। यो तरिकाले बनाइएका १६ नयाँ भाइरस ब्याक्टेरियालाई संक्रमित गर्न डिजाइन गरिएको हो। तिनीहरूले मानिसहरूलाई कुनै खतरा गर्दैनन्। विज्ञानमा एक महत्वपूर्ण मोडको रूपमा स्वागत गरिएको यो उपलब्धिले रोगहरूको उपचारका लागि नयाँ युगको सुरुवात गर्न सक्ने अनुसन्धाताको विश्वास छ। यद्यपि एआई–डिजाइन गरिएका भाइरसहरूले सुरक्षा चिन्ता पनि पैदा गर्नसक्ने चेतावनी विशेषज्ञहरुले दिएका बिबिसीले जनाएको छ। द्रुत गतिमा विकसित भइरहेका एआई टुल्सहरुको प्रयोग यसअघि पनि नयाँ एन्टिबायोटिक डिजाइन गर्न भइसकेका छन्। तर यो कार्य धेरै जटिल रहेको अनुसन्धानकर्ता बताउँछन्। कुनै नयाँ र जीवित रहन सक्षम भाइरसलाई सुरुदेखि डिजाइन गर्न सजिलो छैन।
‘यो त्यो जटिलताको अर्को चरण हो, जसलाई जेनेरेटिभ एआईको मद्दतले डिजाइन गर्न सकिन्छ’, स्ट्यानफोर्ड विश्वविद्यालयका सहायक प्राध्यापक ब्रायन हाइघले भने, ‘सम्पूर्ण जीनोम डिजाइन गर्न जेनेरेटिभ एआई प्रयोग गरिएको पहिलोपटक हो।’
यो प्रविधिले च्याट जीपीटी जस्ता ठूला भाषा मोडेलहरूले जस्तै काम गर्दछ। ती मोडेलहरूले पाठको अर्को भागको भविष्यवाणी गर्छन्। तर इभिओ वान र इभिओ टू नाम दिइएका ति एआई मोडेलहरूले शब्दको नभई जीवनको भाषाको भविष्यवाणी गर्छन्। ती एआई मोडेलहरूलाई भाइरस, ब्याक्टेरिया, बोटबिरुवा र मानिसहरूको आनुवंशिक कोडमा तालिम दिइएको थियो। त्यसपछि तिनीहरूलाई ब्याक्टेरियोफेज भनिने एक विशेष प्रकारको भाइरस तयार गर्न थप परिष्कृत गरियो। ब्याक्टेरियोफेजहरूले केही विशेष प्रकारका ब्याक्टेरियाहरूलाई मात्र संक्रमित गर्छन्।
स्ट्यानफोर्डका अनुसन्धानकर्ताहरूले एआई द्वारा तयार गरिएका उत्कृष्ट डिजाइनहरू मध्ये ३०२ चयन गरे र तिनीहरूलाई प्रयोगशालामा बनाइयो। यी मध्ये १६ डिजाइनहरू ई. कोलाई (एस्चेरिचिया कोलाई) ब्याक्टेरियालाई मार्ने कार्यमा प्रभावकारी साबित भए।
वैज्ञानिकहरू नयाँ भाइरसले ब्याक्टेरियालाई कसरी आक्रमण गर्छ भन्ने संकेत कुरिरहेका थिए। ‘हामीले स्पष्ट दाग देख्न थाल्यौं जुन एकदमै रोमाञ्चक क्षण थियो’, अनुसन्धाता भन्छन्। त्यसपछिको परिणामहरू सम्पूर्ण टोलीसँग साझा गरिएको प्रोफेसर ब्रायनले बताए।
ब्रायनका अनुसार नयाँ ब्याक्टेरियोफेजको विकासले संक्रमणको उपचारका लागि नयाँ बाटो खोल्न सक्छ। यसले एन्टिबायोटिक प्रतिरोधी बनेका संक्रमणहरूको उपचार गर्न मद्दत गर्न सक्छ। यो उपलब्धिसँगै एआईको सहयोगमा, प्राकृतिक संसारलाई पार गर्ने नयाँ जैविक संरचनाहरू डिजाइन गर्न सकिन्छ। यसलाई सिन्थेटिक बायोलोजी भनिन्छ। यसले मानव स्वास्थ्यमा उल्लेखनीय सुधार गर्न सक्ने भन्दै प्रोफेसर ब्रायनले नयाँ औषधि र उपचारहरू विकास गर्न मद्दत गर्ने बताए। ‘तर यो प्रविधिको दुरुपयोग हुन सक्छ र नयाँ रोग सिर्जना गर्न प्रयोग गर्न सकिन्छ भन्ने चिन्ता पहिले नै उठाइएको छ’‚ उनले भने।
साइन्स जर्नलमा प्रकाशित यो अनुसन्धानसँगै, जोन्स हप्किन्स विश्वविद्यालयको स्वास्थ्य सुरक्षा केन्द्रका डा. थोमस इन्ग्लेसबी र डा. मोरिट्ज हान्केद्वारा लेखिएको टिप्पणी पनि छापिएको थियो। जसमा उनीहरूले यस अनुसन्धानले जैविक सुरक्षासँग सम्बन्धित तात्कालिक प्रश्नहरू जन्माएको बताएका छन्।
‘जेनेरेटिभ एआई भाइरस जीनोमहरू डिजाइन गर्न प्रयोग गर्न सकिन्छ या सकिन्न भन्ने प्रश्न होइन, वास्तविक प्रश्न, यो प्रविधि गम्भीर हानि नगरी प्रयोग गर्न सकिन्छ किन सकिदैन भन्ने हो’ उनीहरुले भनेका छन्।
रोग फैलाउने क्षमता भएका नयाँ भाइरसहरू विकसित गर्ने प्रयास गर्न नहुने उनीहरुको भनाइ छ। अनुसन्धाताले आफ्नै सुरक्षालाई पनि प्राथमिकता दिंदै जटिल जीवहरूलाई संक्रमित गर्न सक्ने भाइरसहरुलाई आफ्ना प्रशिक्षण डेटाबेसदेखि बाहिर राखेका थिए।
उनीहरूले ब्याक्टेरियोफेजहरूमाथि अनुसन्धान गरे। ब्याक्टेरियोफेजहरू भाइरस हुन् जसले ब्याक्टेरियालाई संक्रमित गर्छन्, मानिसहरूलाई होइन। यसबाहेक, सम्पूर्ण अनुसन्धान सुरक्षित प्रयोगशालामा गरिएको उनीहरुको दाबी छ। विद्यमान सुरक्षा उपायहरूले यो प्रविधि राम्रो उद्देश्यका लागि प्रयोग भएको कुरा निकै हदसम्म सुनिश्चित गर्ने ब्रायनले बताए।
भाइरसहरूलाई जीवित मानिदैन, त्यसैले पूर्ण जीवहरू सिर्जना गर्नु एआईको लागि अहिले अर्को मुख्य चुनौती हुनेछ। अनुसन्धानकर्ताका अनुसार, यस अनुसन्धानमा सिर्जना गरिएको ब्याक्टेरियोफेजको आनुवंशिक कोड लगभग ५,४०० बेस पेयर (अक्षरहरू) को छन्। कुनै जीवित कोषिकाको सबैभन्दा सानो जीनोम लगभग ५, लाख बेस पेयरका हुन्छन्। मानव जीनोम लगभग ३ अर्ब बेस पेयसका हुन्छन्।
ब्रायन भन्छन् – ‘केही सरल जीवहरू सिर्जना गर्ने प्रयास गर्नु धेरै मेहनतको काम हुनेछ तर असम्भव छैन।’ स्पेनको पोम्पेउ फाब्रा युनिभर्सिटीको सिन्थेटिक बायोलोजी ल्याबका प्रोफेसर मार्क गुएलले यो अध्ययनलाई ‘धेरै महत्वपूर्ण मोड’ भनेका छन्।
‘इतिहासमा पहिलो पटक, हामी कम्प्युटरमा जीवविज्ञान डिजाइन गर्न थाल्दै छौं। यसले हामीलाई धेरै रोमाञ्चक सम्भावनाहरूको सपना देख्ने अवसर दिन्छ’ उनले भने। तिनमा रोगहरुसँग लड्ने ब्याक्टेरियोफेजहरू विकास गर्ने, आनुवंशिक रोगहरूको उपचार गर्न इन्जाइमहरू बनाउन र इम्युनोथेरापीमा प्रयोग हुने एन्टिबडीहरू सिर्जना गर्ने जस्ता सम्भावना देखिन्छ।
म्यानचेस्टर इन्स्टिच्युट अफ बायोटेक्नोलोजीका सिंथेटिक जीनोमिक्सका प्रमुख प्रोफेसर प्याट्रिक काईले पनि अध्ययनलाई महत्वपूर्ण उपलब्धि भन्दै यसको महत्व ब्याक्टेरियोफेजहरूमा मात्र सीमित नरहेको टिप्पणी गरेका छन्। यसबाट एआईको मद्दतले जिनोम लेखन र डिजाइन गर्ने बाटो खुल्न सक्ने उनले बताए। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सन् २०३५ सम्म देशभर ५जी सेवा !

२०८३ श्रावण २६ गते, मंगलवार

इजलासका आदेश अनलाइनमा !

२०८३ श्रावण १२ गते, मंगलवार