वातावरणमैत्री सडक निमार्णमा सिंगापुर, नेदरल्यान्ड् र स्विट्जरल्यान्डबाट नेपालले सिक्नुपर्ने पाठ
काठमाडौँ । नेपालमा प्रत्येक वर्ष मनसुन (असारदेखि असोज) समयमा बाढी र पहिरोका कारण मुख्य तथा सहायक राजमार्गहरू पटक–पटक अवरुद्ध हुने गरेका छन् । भौगोलिक बनावट, कमजोर भू–बनोट र भारी वर्षा यसको मुख्य कारण हुन् । पृथ्वी राजमार्ग (नागढुङ्गा–मुग्लिन)ः जोगिमारा, मौवाखोला, र झ्याप्ले खोला क्षेत्रमा बारम्बार पहिरो जाँदा काठमाडौँ उपत्यकाको मुख्य आपूर्ति ठप्प हुने गर्छ । त्रिभुवन राजपथः सिस्नेरी र भिमफेदी खण्डमा साना–ठूला पहिरोका कारण सवारी आवागमन नियमित प्रभावित हुन्छ । बिपी राजमार्गको रोशी खोलामा आउने बाढीले सडक नै बगाउने र कटान गर्ने समस्या बर्सेनि दोहोरिन्छ । नारायणगढ–बुटवल सडकः निर्माणाधीन अवस्था र कमजोर डाँडाका कारण दाउन्ने क्षेत्रमा सडक हिलो र पहिरोले बन्द भइरहन्छ । अरनिको र पासाङल्हामु राजमार्गको तातोपानी र रसुवागढी सीमा जोड्ने उत्तरी नाकाहरूमा वर्षेनी भोटेकोशीको कटान र पहिरोले सडक सञ्जाल बिच्छेद गराउँछ । सदरमुकाम जोड्ने सडकहरू कर्णाली र सुदूरपश्चिमका मध्यपहाडी तथा हिमाली जिल्लाहरू (कालीकोट, बाजुरा, बझाङ) महिनाौंसम्म सडक सम्पर्कबाट विच्छेद हुने गर्छन् ।
नेपालको कमजोर भू–बनोटमा नयाँ तथा काँचो पहाडी भू–भागमा अव्यवस्थित रूपमा डोजर प्रयोग गरी सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको छ । जलवायु परिवर्तन र अतिवृष्टिक कारण छोटा समयमा अत्यधिक भारी वर्षा हुनाले नदी किनारका सडक कटान र डाँडा भासिने समस्या बढेको छ । कमजोर ढल व्यवस्थापनले सडकमा पानीको उचित निकास नहुँदा सडकमाथि नै बाढी बगेर सडक भत्किने गरेको छ ।
यस्तो अवस्थामा नेपालले वातावरणमैत्री सडक (हरित सडक) निर्माणका निम्ति पाइला चाल्नु आवश्यक भएको छ । प्राकृतिक वातावरण, भू–बनोट र स्थानीय जनजीवनमा कमभन्दा कम नकारात्मक असर पर्ने गरी इन्जिनियरिङ प्रविधि अपनाएर निर्माण गरिने दिगो सडकलाई वातावरणमैत्री सडक (हरित सडक) भन्ने गरिन्छ ।
वातावरणमैत्री सडक निर्माण यस्तो विधि हो, जसमा सडक बनाउँदा प्राकृतिक स्रोतसाधनको कमभन्दा कम दोहन गरिन्छ र गरिन्छ वातावरणमा पर्ने नकारात्मक असरलाई सकेसम्म न्यूनीकरण गरिएको हुन्छ । वातावरणमैत्री सडक निर्माण गर्दा सडक खन्दा काटिएको भिरालो जमिनलाई स्थिर राख्न सिमेन्टको पर्खालको सट्टा स्थानीय रुखबिरुवा, बाँस, अम्रिसो, खस्रुत र घाँसहरू रोपिन्छ । बिरुवाको जराले माटोलाई समातेर राख्छ र पहिरो जानबाट रोक्छ । सडक खन्दा निस्किएको माटो र ढुंगालाई भिरबाट तल जथाभावी नफाली, सडककै अर्को भाग पुर्न वा पर्खाल लगाउन प्रयोग गरिन्छ । यसले गर्दा तल रहेका खेतबारी र वनजंगल पुरिने जोखिम हुँदैन । वातावरणमैत्री सडकमा वर्षाको पानीलाई सुरक्षित तरिकाले बगेर जान दिनका लागि प्राकृतिक खोल्साहरूसँग जोडेर पक्की नाली र कल्भर्टहरूको निर्माण गरिन्छ ।
वातावरणमैत्री सडक निर्माण गर्दा ठूला हेभी इक्विपमेन्ट (जस्तैः एक्साभेटर, डोजर) को कम प्रयोग गरी स्थानीय कामदारहरूको प्रयोगमा जोड दिइन्छ । यन्त्रको कम्पनले पहाड थर्किने र पहिरो जाने जोखिम हुन्छ, जबकि मेसिनको सन्तुलित प्रयोग र मानव श्रमले जमिनको प्राकृतिक बनावटलाई कम नोक्सान पु¥याउँछ । वातावरणमैत्री वा हरित सडकको अवधारणा केवल प्रदूषण कम गर्ने र दिगो सामग्रीको प्रयोग गर्ने कुरामा मात्र सीमित छैन; यसले जैविक विविधता (बायोडाइभर्सिटी)को संरक्षणमा पनि अत्यन्तै महत्वपूर्ण भूमिका खेल्छ । परम्परागत रूपमा सडक वा राजमार्गहरू निर्माण गर्दा जंगल र जनावरहरूको प्राकृतिक बासस्थान टुक्रिने गर्छ । यसले गर्दा वन्यजन्तुको स्वतन्त्र आवतजावतमा ठूलो अवरोध पुग्छ, उनीहरू खाना र पानीको खोजीमा निस्कँदा गाडीको ठक्करबाट मारिने जोखिम बढ्छ । लामो समयसम्म एउटै बगालमा मात्र खुम्चिँदा उनीहरूको वंशाणुगत विविधतामा समेत ह्रास आउँछ । यी समस्याको सम्बोधन गर्न आधुनिक हरित सडकहरूमा वन्यजन्तुमैत्री पूर्वाधारहरू निर्माण गरिन्छन् । इकोडक्ट्स वा वन्यजन्तु ओभरपास र अन्डरपास । राजमार्गको माथिबाट निर्माण गरिएका पुलहरूमा माटो राखेर, घाँस र रुखबिरुवा रोपेर हुबहु जंगल जस्तै बनाइन्छ । जसबाट मृग, भालु, बाघजस्ता जनावर सुरक्षित रूपमा सडक पार गर्न सक्छन् । यस्तै, सडकमुनिबाट बनाइएका सुरक्षित बाटोहरू, जसले साना स्तनधारी जनावर वा उभयचर प्राणीहरूलाई बाटो काट्न मद्दत गर्छन् ।
वातावरणमैत्री सडक भन्नासाथ सडकको बीच भाग (डिभाइडर) र दुवै किनारमा गरिने वृक्षरोपण मात्र होइन, प्राविधिक कुराहरू (जस्तैः सोलार प्यानल वा स्मार्ट सेन्सर) पनि सँगै आउँछन् । हरियाली त सडकको मुटु नै हो, जसले वातावरण र मानव स्वास्थ्यमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्छ । सडकमा गुड्ने गाडीहरूले प्रशस्त मात्रामा कार्बन डाइअक्साइड, नाइट्रोजन अक्साइड र धुलोका मसिना कणहरू फाल्छन् । किनारमा रोपिएका रुखहरूले यी हानिकारक ग्यास र धुलोलाई स्पन्जले जस्तै सोस्ने काम गर्छन् र सहरलाई शुद्ध अक्सिजन प्रदान गर्छन् । गाडीको इन्जिन र हर्नको चर्को आवाज बस्तीसम्म पुग्न नदिन रुखहरूले प्राकृतिक पर्खालको काम गर्छन् । बाक्लो पात र हाँगाबिँगा भएका रुखहरूले ध्वनिका तरंगहरूलाई छेक्ने र सोस्ने गर्छन्, जसले वातावरण शान्त रहन्छ । कालो अलकत्राले घामको तापलाई धेरै सोस्छ र वरपरको तापक्रम ह्वात्तै बढाउँछ । तर सडक किनारका रुखहरूको छहारीले सडकलाई धेरै तात्नै दिँदैन । यसले गर्दा सडक छिटो बिग्रिन पाउँदैन र पैदल यात्रुलाई पनि शीतल हुन्छ । सडकको बीचको डिभाइडरमा प्रायः होचा र बाक्ला झाडीदार बिरुवाहरू रोपिन्छन् । यसको मुख्य कारण रातिको समयमा विपरीत दिशाबाट आउने गाडीको हेडलाइटको चमकले चालकको आँखा नतिर्मिराओस् र दुर्घटना नहोस् ।
हरित सडकमा विशेष गुण भएका रुखहरू रोपिन्छन । पहिलो, धेरै अक्सिजन दिने र धुलो सोस्ने पीपल, वर, नीम, स्वामी, अर्जुन र अशोकजस्ता रुखहरू जो हावा शुद्धीकरण गर्न उत्कृष्ट मानिन्छन् । दोस्रो, बलियो र गहिरो जरा भएका जसमा हावाहुरी चल्दा ढलेर सडक अवरुद्ध नहोस् भनेर गहिरो जरा जाने रुखहरूलाई प्राथमिकता दिइन्छ । तेस्रो, सौन्दर्य बढाउने जस्तै मौसमअनुसार पूmल फुल्ने रुखहरू (जस्तै, ज्याकारान्डा, गुलमोहर, लालुपाते)ले सडकको सौन्दर्य बढाउँछन् र चालकको मानसिक थकानसमेत कम गराउँछन् ।
वातावरणमैत्री सडक कालोपत्रे गर्दा अलकत्रासँगै खेर गएका र प्रशोधन गरिएका प्लाष्टिक र टायरका टुक्राहरू मिसाइन्छ । यसले प्लाष्टिक प्रदूषण घटाउँछ र सडकलाई पानीबाट हुने क्षतिबाट जोगाउँछ । पुरानो भत्किएको सडकको कालोपत्रे वा कंक्रिटलाई नै प्रशोधन गरेर वातावरणमैत्री उक्त सामग्री नयाँ सडक निर्माणमा प्रयोग गरिन्छ । कोइलाबाट चल्ने उद्योगहरूबाट निस्कने खरानी (फ्लाई एस)लाई सिमेन्टको विकल्प वा मि श्रणको रूपमा प्रयोग गरिन्छ, जसले कार्बन उत्सर्जन घटाउन मद्दत गर्छ । टाढाबाट इँटा वा सिमेन्ट ढुवानी गर्दा लाग्ने इन्धन र प्रदूषण कम गर्न सडक निर्माणस्थलकै वरपर पाइने ढुंगा र माटोको प्रयोग गरिन्छ ।
विश्व आर्थिक मञ्चको वार्षिक ‘ग्लोबल कम्पिटिटिभनेस रिपोर्ट’ अन्तर्गतको ‘रोड क्वालिटी इन्डेक्स’ले विश्वभरका सडकको भौतिक र प्राविधिक गुणस्तर मापन गर्छ, जसमा सिंगापुर, नेदरल्यान्ड्स र स्विट्जरल्यान्ड सधैं शीर्ष स्थानमा पर्छन् । नवीनतम वातावरणीय परियोजनाहरू जस्तै, नेदरल्यान्ड्सको ‘सोलर (सोला) रोड’ र स्विडेनको ‘ई–रोड आर्लान्डा’ जस्ता विश्वमै पहिलो पटक परीक्षण र सफल भएका परियोजना छन् । यिनै तथ्य, तथ्यांकका आधार र अनुसन्धानहरूलाई टेकेर विश्वका १० देशले परम्परा भत्काएर दिगो भविष्यको नयाँ मार्ग कोरेका छन् ।
नेदरल्यान्डमा सडकबाटै बिजुली ः
साइकल र हरियालीको सन्दर्भमा नेदरल्यान्ड्स अगाडि छ । डच सरकारको पूर्वाधार तथा जल व्यवस्थापन मन्त्रालयको तथ्यांक हेर्ने हो भने यहाँ बन्ने नयाँ राजमार्गहरूमा अत्यधिक मात्रामा ‘रिसाइकल’ गरिएको कालोपत्रे प्रयोग गरिन्छ । जसले नयाँ अलकत्रा र गिट्टीको दोहन कम गर्छ । नेदरल्यान्ड्सलाई विश्वकै उत्कृष्ट सडक बनाउने मूल विषय अर्कै छ ।
कल्पना गर्नुहोस् त, तपाईं सडकमा हिँडिरहनुभएको छ र त्यो सडकले बिजुली उत्पादन गरिरहेको छ ! हो, नेदरल्यान्ड्सको ‘सोलर रोड’ परियोजनाले यही चामत्कारिक काम गरेको छ । क्रोमनी भन्ने सहरमा सन् २०१४ मा विश्वकै पहिलो सौर्य प्यानल जडित साइकल लेन बनाइयो । जुन सडकले घामबाट ऊर्जा लिन्छ र नजिकैका घरहरू र सडक बत्तीहरूलाई बिजुली दिन्छ । बाढी र पानी जम्ने समस्याबाट बच्न डच इन्जिनियरहरूले बनाएको पानी सोस्ने प्रणाली त झनै उत्कृष्ट छ । प्रकृतिलाई नबिगारी आधुनिकता अँगाल्ने नेदरल्यान्ड्स साँच्चै प्रेरणादायी देश हो ।
सिंगापुरमा स्पञ्ज, एआई र स्मार्ट सेन्सरहरू ः
विश्व आर्थिक मञ्चको रिपोर्ट हेर्ने हो भने सडकको गुणस्तरमा सिंगापुरले विश्वमै सबैभन्दा उच्च अंक (६.५–७.०) पाएको छ । सानो तर अति नै विकसित टापु राष्ट्र यसले सडकलाई कसरी वातावरणमैत्री बनाउन सकिन्छ भनेर विश्वलाई सिकाएको छ । सिंगापुरको ‘ल्यान्ड ट्रान्सपोर्ट अथोरिटी’ले सडक निर्माणमा विशेष प्रकारको ‘पोरस अस्फाल्ट’को अनिवार्य प्रयोग गराउँछ ।
सिंगापुरमा भारी वर्षा हुन्छ । तर यो विशेष कालोपत्रेले पानीलाई सडकमा जम्न नदिई स्पन्जले जस्तै तुरुन्तै सोसेर ढलमा पु¥याउँछ । जसले गाडी चिप्लिएर हुने दुर्घटना कम गर्छ । अर्को, यसले गाडीका टायर र सडकबीचको घर्षणबाट निस्कने चर्को आवाजलाई दबाइदिन्छ, जसले सहरलाई शान्त राख्छ । सिंगापुरले सहरभरि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ जडित ‘स्मार्ट सेन्सर’हरू राखेको छ, जसले ट्राफिक जाम हुन दिँदैन । गाडी जाम नभएपछि इन्धन कम जल्छ र धुवाँ पनि कम निस्कन्छ ।
स्विडेनमा ई–रोड आर्लान्डाले जादुयी सडक ः
स्विडेनले यातायातको क्षेत्रमा सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको छ । सुन्दा असम्भव जस्तो लागे पनि स्विडेनको सडक निर्माण विभाग ‘ट्राफिक भर्केट’ले यसलाई सम्भव बनाउँदैछ । स्विडेनले विद्युतीय सडकको अवधारणालाई सन् २०१८ मै वास्तविकतामा परिणत गरिसकेको छ– ष्टकहोम नजिकैको ‘ई–रोड आर्लान्डा’ परियोजना । यो यस्तो जादुयी सडक हो, जहाँ विद्युतीय ट्रक वा कार गुड्दागुड्दै आफैं चार्ज हुन्छन् ।
सडकको बीचमा रेलको लिक जस्तै ट्र्याक बिछ्याइएको हुन्छ, जसबाट गाडीको तल्लो भागमा जोडिएको यन्त्रले बिजुली तान्छ । गाडी रोकिएपछि वा बाटो काटेपछि यो ट्र्याकमा करेन्ट प्रवाह हुन बन्द हुन्छ, त्यसैले यो पूर्णरूपमा सुरक्षित छ । जुन प्रविधिले अब विद्युतीय गाडीहरूमा ठूला र भारी ब्याट्री बोक्नुपर्ने झन्झट हटेको छ । ब्याट्री उत्पादन घटाउनु भनेको प्रकृति दोहनलाई सिधै रोक्नु हो । स्विडेनको यो कदम भविष्यको यातायातको साँचो तस्बिर हो ।
स्विट्जरल्यान्डमा अकोष्टिक अस्फाल्ट’ र इकोडक्टस् ः
स्विट्जरल्यान्डको प्राकृतिक सौन्दर्य र पूर्वाधार दुवै विश्वप्रसिद्ध छन् । स्विस फेडरल रोड्स अफिसले सडक बनाउँदा मानिसको सुविधासँगै जनावरहरूको अधिकारलाई पनि उत्तिकै सम्मान गर्छ । पहाड र जंगल छिचोलेर राजमार्गहरू बनाउँदा जनावरहरूको बासस्थान टुक्रिने र उनीहरू गाडीको ठक्करबाट मारिने जोखिम घटाउन सयौं वन्यजन्तु कोरिडोर (इकोडक्ट्स) निर्माण गरेको छ । जहाँ रुखबिरुवा रोपेर ठ्याक्कै जंगल जस्तै बनाइएको हुन्छ । साथै, सुन्दर आल्प्स पर्वतका उपत्यकाहरूमा गाडीको आवाज गुञ्जिएर हुने ध्वनि प्रदूषणलाई रोक्न स्विस इन्जिनियरहरूले विशेष किसिमको ‘अकोष्टिक अस्फाल्ट’ प्रयोग गर्छन् । यसले आवाजलाई सोस्छ र प्रकृतिको शान्तिलाई कायमै राख्छ । विकास र प्रकृतिको सुन्दर सहअस्तित्व स्विट्जरल्यान्डबाहेक विरलै देख्न पाइन्छ ।
फ्रान्समा वाट–वे र स्मार्ट मेन्टेनेन्स ः
फ्रान्स कला, फेसन र रोमान्सको देशमात्र होइन, इन्जिनियरिङमा पनि उत्तिकै अब्बल छ । पारिस्थितिक संक्रमण मन्त्रालय र निर्माण कम्पनी ‘कोलस ग्रुप’ मिलेर सडकलाई नै ऊर्जाको पावरहाउस बनाउने सपना देखेका छन् ।
फ्रान्सको नोर्मान्डीमा उनीहरूले ‘वाट–वे’ नामक विश्वकै पहिलो सोलार प्यानल जडित मोटरबाटोको परीक्षण गरे । यो यस्तो पातलो र बलियो सौर्य प्यानल हो, जसलाई सिधै सडकको सतहमा टाँस्न सकिन्छ र त्यसमाथि १८–पाङ्ग्रे भारी ट्रकहरू गुड्दा पनि टुट्दैन । यद्यपि सुरुवाती दिनमा केही प्राविधिक चुनौती आए तर फ्रान्सले यसलाई निरन्तर सुधार गरिरहेछ । फ्रान्सले ‘स्मार्ट मेन्टेनेन्स’ प्रणाली पनि लागू गरेको छ । सडक भत्किएर ठूला मेसिन र अलकत्रा बोकेर जानुअघि नै सडकमा जडान गरिएका सेन्सरले कुन ठाउँमा मर्मत आवश्यक छ भनेर पूर्वसूचना दिन्छन् । यसरी थोरै मर्मतले काम चल्छ र अनावश्यक कार्बन उत्सर्जन रोकिन्छ ।
जापानमा थोत्रा प्लाष्टिकबाट बाटो र चार्जिङ ष्टेसन ः
भूकम्प, सुनामीजस्ता प्राकृतिक प्रकोपहरू झेलिरहने देश जापानको पूर्वाधार मन्त्रालयले सडक बनाउँदा अत्यन्तै टिकाउ र लामो समयसम्म खप्ने प्रविधिको प्रयोग गर्छ । अचेल वातावरणलाई केन्द्रमा राख्दैछ । विश्वभर ठूलो टाउको दुखाइ बनेको प्लाष्टिक प्रदूषण जापानले भने सदुपयोग गर्दै सडकमा बिछ्याउँछ ।
फालिएका प्लाष्टिकका बोतल र झोलाहरूलाई पगालेर अलकत्रामा मिसाउने प्रविधि सफलतापूर्वक लागू गर्छ जापान । यस्ता सडक धेरै बलियो हुन्छन्, पानीले कम बिगार्छ र आयु पनि लामो हुन्छ । एकातिर प्लाष्टिकको फोहोर व्यवस्थापन हुने, अर्कोतिर सडक पनि बलियो बन्ने । जापानले देशभरि विद्युतीय सवारीसाधनको चार्जिङ ष्टेसनहरूको यति बाक्लो सञ्जाल बिछ्याएको छ कि मानिसहरू पेट्रोलपम्प खोज्नभन्दा चार्जिङ ष्टेसन भेटाउन सजिलो मान्छन् ।
डेनमार्कमा कार छोडेर साइकल जहाँ छ ग्रिनवेज ः
डेनमार्कको सडक मोडल अलि फरक र निकै प्रेरणादायी छ । डेनमार्कको सडक निर्देशनालयको मुख्य उद्देश्य सडक फराकिलो बनाएर धेरै कार गुडाउने होइन, बरु मानिसलाई कार छोडेर साइकल वा सार्वजनिक यातायात प्रयोग गर्न प्रेरित गर्ने हो । कोपेनहेगनजस्ता सहरहरूमा हेर्ने हो भने कार गुड्ने बाटोभन्दा साइकल गुड्ने बाटो फराकिला र सुविधायुक्त छन् ।
मोटरबाटोहरूसँगै समानान्तर रूपमा हरियालीले भरिएका ‘ग्रिनवेज’ निर्माण गरिएका छन् । यी लामा साइकल लेनहरू हुन्, जहाँ साइकल यात्रीहरूले ट्राफिक जाम र धुवाँधुलोको सामना नगरी छिटो गन्तव्यमा पुग्न सक्छन् । कारको प्रयोग घटेपछि सडक भत्किने दर कम हुन्छ, सडक मर्मतमा लाग्ने कार्बन उत्सर्जन जोगिन्छ र सहरको हावा एकदमै सफा हुन्छ । पूर्वाधारले नै मानिसको बानी बदल्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो, डेनमार्क ।
संयुक्त अरब इमिरेट्स (यूएई)मा रबरइज्ड अस्फाल्ट ः
मरुभूमिको तातो बालुवा र प्रचण्ड गर्मी हुने यूएईको नाम यो सूचीमा देख्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यूएईको ऊर्जा तथा पूर्वाधार मन्त्रालयले दिगो विकासमा गरेको लगानी लोभलाग्दो छ । खाडी मुलुकको अत्यधिक गर्मीमा सामान्य अलकत्रा पग्लेर सडक बिग्रिने ठूलो समस्या हुन्छ । यसको समाधान गर्न यूएईले काम नलाग्ने पुराना टायरहरूलाई धुलो बनाएर अलकत्रामा मिसाउन थालेको छ । यसरी बनेको ‘रबरइज्ड अस्फाल्ट’ले गर्मीलाई सजिलै थेग्छ र सडकको आयु कैयौं वर्ष बढाइदिन्छ । यसरी, मरुभूमिमा जताततै फालिने हजारौं टन रबरको फोहोर व्यवस्थापन भएको छ । अर्कोतर्फ, यूएई (विशेषगरी दुबई र अबुधाबी)ले सडकमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ट्राफिक लाइटहरू राखेको छ । यी लाइटहरूले गाडीको चाप हेरेर आफैं हरियो वा रातो बत्ती बाल्छन् । जसले गाडीहरू चोकमा लामो समय रोकिनु पर्दैन र हावामा फालिने विषाक्त धुवाँको मात्रा उल्लेख्य रूपमा घट्छ ।
दक्षिण कोरियाका डिभाइडरमाथि सौर्य प्यानलको छाना ः
दक्षिण कोरियाले परम्परागत सडकलाई केवल यात्रा गर्ने माध्यमबाट परिणत गरेर ऊर्जा उत्पादन र सक्रिय गतिशीलताको हब नै बनाइदिएको छ । दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले अघि सारेका परियोजनाहरू विश्वकै लागि उदाहरण बनेका छन् ।
सबैभन्दा सुन्दर नमुना दाएजियोन र सेजोङ सहर जोड्ने राजमार्ग हो । यो राजमार्गको बीच भागमा (जहाँ सामान्यतया डिभाइडर हुन्छ) एउटा सुरक्षित साइकल लेन बनाइएको छ । लेनको ठीक माथि सौर्य प्यानलहरूको लामो छाना राखिएको छ । यसले एकातिर साइकल यात्रीलाई घाम र पानीबाट बचाउँछ भने अर्कोतिर त्यसबाट उत्पादित बिजुलीले राजमार्गमा बत्तीहरू बाल्न र नजिकैको ग्रिडमा ऊर्जा आपूर्ति गर्न मद्दत गर्छ । सडकको खेर गइरहेको खाली ठाउँलाई बहुउद्देश्यीय र वातावरणमैत्री तरिकाले प्रयोग गर्ने दक्षिण कोरियाको दूरदृष्टि तारिफयोग्य छ ।
अष्ट्रियामा आस्फिनाग र ग्रीन ब्रिजहरू ः
युरोपको मुटुमा रहेको अष्ट्रिया एक प्रमुख ‘ट्रान्जिट’ देश हो, जहाँबाट दैनिक हजारौं अन्तर्राष्ट्रिय ट्रक र कारहरू ओहोर–दोहोर गर्छन् । यति धेरै व्यस्त सडक सञ्जाल भए तापनि अष्ट्रियाले आफ्नो जैविक विविधतालाई जोगाउन ठूलो संघर्ष गरेको छ । अटोबान (राजमार्ग) सञ्चालक कम्पनी ‘आस्फिनाग’ले वातावरण संरक्षणलाई सधैं पहिलो प्राथमिकतामा राख्ने गरेको छ । यहाँका राजमार्गहरू पार गर्न ठाउँ–ठाउँमा ठूला ‘ग्रीन ब्रिज’हरू बनाइएका छन् ।
यी पुलहरू सिमेन्टका मात्र हुँदैनन्, त्यसमा माटो राखेर, घाँस र बुट्ट्यानहरू रोपेर जंगलको बाटो जस्तै बनाइएको हुन्छ । जसले जंगली जनावरहरू सुरक्षित ओहोरदोहोर गर्न पाउँछन् । अष्ट्रियाले सडक कालोपत्रे गर्दा मौसम–प्रतिरोधी विशेष रसायनहरू मिसाउँछ, जसले सडक छिटो बिग्रिँदैन । सडक छिटो नबिग्रिनु भनेको पटक–पटक डोजर र रोलरहरू ल्याएर मर्मत गरिरहनु नपर्नु हो, जसले निर्माण कार्यबाट हुने प्रदूषणमा भारी कटौती भएको छ ।
