नेपालको कम्युनिष्ट राजनीतिमा सुधार गर्नुपर्ने पक्षहरु

२०८३ श्रावण १८ गते, सोमबार

डा. केशव देवकोटा

नेपालमा एकातिर राष्ट्रिय राजनीतिमै एकपछि अर्कोगर्दै चुनौतीहरु बढिरहेका छन्भने अर्कातिर त्यसको समाधानगर्न यहाँको कम्युनिष्ट र देशभक्त शक्ति पनि असफल भएको देखिएको छ । हालै पूर्बी तराईका जिल्लाहरुमा भएका घटनाले उपरोक्त कुराको राम्ररी प्रमाणित गरेको छ । तराईमा हालै घटेको घटनामा कम्युनिष्ट पार्टीहरुले राम्रो भूमिका खेल्न सक्थे तर एमाले र नेपाली कम्युनिष्ट पार्टीलगायतका संसदवादी कम्युनिष्ट पार्टीहरुको भूमिका सरकारपरस्त एबं ढुलमूल देखियोभने अन्य आफूलाई क्रान्तिकारी बताउने कम्युनिष्ट पार्टीहरु पनि खासै सक्रिय हुनसकेनन् । जसले नेपालको कम्युनिष्ट राजनीति क्रमशः मन्दहुँदै गएको संकेत गरेको छ । जुन नेपालजस्तो मुलुकका लागि राम्रो संकेत होइन । कम्युनिष्ट आन्दोलन भनेको समाजमा आर्थिक र सामाजिक असमानता हटाई उत्पादनका साधन (जस्तैः उद्योग, जमिन, प्राकृतिक श्रोत) व्यक्तिगत स्वामित्वभन्दा सामूहिक वा राज्यको स्वामित्वमा हुनुपर्छभन्ने बिचारमा आधारित राजनीतिक र सामाजिक आन्दोलन हो । जुन आन्दोलनका मुख्य उद्देश्यहरुमा वर्गीय विभेद (धनी र गरिबबीचको ठूलो असमानता) कम वा अन्त्यगर्ने, श्रमिक र किसानको अधिकारको रक्षागर्ने, सबैलाई समान अवसर र आधारभूत आवश्यकताको पहुँच सुनिश्चित गर्ने, उत्पादनका साधनको सामूहिक स्वामित्व वा सार्वजनिक नियन्त्रणलाई बढावा दिनेलगायत रहेका छन् ।

कम्युनिष्ट आन्दोलनको वैचारिक आधार कार्ल माक्र्स र फेडरिक ऐङ्गेल्सले विकास गरेको माक्र्सवाद हो । पछि लेनिन र माओत्सेतुङलगायतका नेताहरुले त्यसलाई व्यवहारमा लागू गर्ने प्रयासगर्दै विभिन्न बिचारधाराको विकास गर्नुभएको हो । कम्युनिष्ट आन्दोलनका रुसी क्रान्ति र चिनियाँ जनक्रान्तिलगायतका कतिपय ऐतिहासिक उदाहरणहरु पनि रहेका छन् । नेपालमा पनि कतिपय कम्युनिष्ट पार्टीहरुले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र सरकार सञ्चालनलगायतका अभ्यास पनि गरेका छन् । जसमा फरक–फरक दृष्टिकोणहरु पनि रहेका छन् । कम्युनिष्ट राजनीति र आन्दोलनले जहिले पनि सामाजिक न्याय, समानता र श्रमिक अधिकारलाई बलियो बनाउन प्रयास गरेकै हुनुपर्दछ । कम्युनिष्ट राजनीतिका आलोचकहरुले कम्युनिष्ट शासनहरुमा राजनीतिक स्वतन्त्रतामा प्रतिबन्ध, एकदलीय शासन र आर्थिक समस्याहरु रहने बताउने गरेका छन् । तर नेपालको कम्युनिष्ट राजनीतिमा त्यस्ता संकेतहरु देखिएका छैनन् । जसलेगर्दा कम्युनिष्ट आन्दोलनलाई त्यसको विचारधारा र विभिन्न देशहरुमा भएको व्यवहारिक कार्यान्वयनलाई अलग, अलगरुपमा बुझ्नु महत्वपूर्ण हुन्छ ।

नेपालका सन्दर्भमा भन्नुपर्दा धेरै कम्युनिष्ट पार्टीहरुले आपूmलाई समाजवाद वा जनमुखी परिवर्तनको पक्षमा रहेको बताउने गरेपनि व्यवहारमा नीतिगत स्पष्टता र दीर्घकालीन कार्यक्रम प्रस्तुत गर्न नसकेको अवस्था छ । त्यसैगरी नेपालका कम्युनिष्ट पार्टीहरुमा रहेको बारम्बार फुट्ने, फेरि मिल्ने र फेरी विभाजित हुनेक्रमले संगठनात्मक स्थिरता कमजोर बनाएको छ । जसले नेता तथा कार्यकर्ता र कतिपय अवस्थामा मतदाताहरुमा समेत अन्योलताको सिर्जना गर्नेगरेको छ । त्यसैगरी नीति र संस्थाभन्दा व्यक्तित्व र नेतृत्वबीचको प्रतिश्पर्धाले धेरै निर्णय प्रभावित भएको आरोप पनि लाग्नेगरेको छ । जसले पार्टीहरुमा आन्तरिक लोकतन्त्र कमजोर बनाएको धेरैको टिप्पणी रहनेगरेको छ । संसदवादी कम्युनिष्ट पार्टीहरुले सरकारमा रहँदा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह, रोजगारी, र आर्थिक विकासका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको कुरा दिनको घाम जतिकै छर्लङ्ग छ । त्यसैगरी नयाँ पुस्ताका रोजगारी, उद्यमशीलता, डिजिटल अर्थतन्त्र र शिक्षासम्बन्धी अपेक्षालाई उनीहरुले सम्बोधन गर्न सकेको देखिएको छैन ।

कतिपय कम्युनिष्ट पार्टीहरुले गणतन्त्रको संस्थागत विकास, ०७२ को संविधान कार्यान्वयन, स्थानीय तहको सुदृढीकरण र केही सामाजिक सुरक्षाका कार्यक्रमहरु अघिबढाउन खोजेको देखिन्छ । समग्रमा भन्नुपर्दा नेपालका कम्युनिष्ट पार्टीहरुको अहिलेको चुनौती केवल निर्वाचन जित्नेमात्र होइन । जनतामा विश्वसनीयता पुनःस्थापित गर्ने, स्पष्ट वैचारिक दिशा प्रस्तुत गर्ने, आन्तरिक लोकतन्त्र सुदृढ गर्ने र सुशासनमार्फत जनविश्वास पुनःआर्जन गर्ने तिर ध्यान दिनुपर्ने देखिएको छ । उपरोक्त क्षेत्रहरुमा सुधार गर्न सकेमात्र उनीहरुले आफ्नो राजनीतिक प्रभाव पुनः मजबुत बनाउन सक्छन् । अन्यथा जनसमर्थन थप खुम्चिने सम्भावना रहेको छ । कम्युनिष्ट आन्दोलनलाई समयानुकूल, प्रभावकारी र जनमुखी बनाउन विभिन्न पक्षमा सुधार आवश्यक छ । जसकाबारेमा फरक–फरक राजनीतिक धारणाहरु हुनसक्छन् । पार्टीहरुमा आन्तरिक लोकतन्त्र सुदृढ गर्ने, नेतृत्व चयनमा पारदर्शी र प्रतिश्पर्धात्मक प्रक्रिया अपनाउने, सदस्यहरुको बिचार र आलोचनालाई सम्मान गर्ने संस्कृति विकास गर्ने, विचार र व्यवहारबीच सामञ्जस्य कायम गर्ने, पार्टीको घोषणापत्रका प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्ने, जनतासँग गरेका वाचा पूरागर्न प्राथमिकता दिनेलगायतका कुराहरुमा ध्यान दिनुपर्ने देखिएको छ ।

त्यसैगरी पार्टीका नीतिलाई समयानुकूल बनाउने, बदलिँदो आर्थिक, सामाजिक र प्रविधिगत परिवेशअनुसार नीतिहरुलाई अद्यावधिक गर्ने । रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण र डिजिटल अर्थतन्त्रजस्ता समसामयिक विषयलाई प्राथमिकता दिने, सुशासन र जवाफदेहिता बढाउने भ्रष्टाचारविरुद्ध स्पष्ट र समान मापदण्ड लागू गर्ने, सार्वजनिक पदमा रहेका व्यक्तिहरुलाई जवाफदेही बनाउनेलगायतका कुराहरुमा पनि ध्यान केन्द्रित गरेको हुनुपर्दछ । त्यसैगरी पार्टीका नेता तथा कार्यकर्ताहरुलाई क्षमता र योगदानका आधारमा जिम्मेवारी प्रदान गर्ने, पार्टीमा सम्वाद र सहकार्यको संस्कृति विकास गर्ने, फरक विचार भएका अन्य राजनीतिक दल र नागरिक समाजसँग पनि रचनात्मक ढंगले सम्वाद गर्नेतिर पनि ध्यानदिन सक्नुपर्ने देखिएको छ । जनतासँग निरन्तर सम्पर्क राख्ने, स्थानीय तहका समस्या नियमितरुपमा सुन्ने र समाधानका लागि प्रभावकारी ढंगले काम गर्नेगर्नु पर्दछ । त्यसैगरी नीति निर्माणमा नागरिकको सुझावलाई समावेश गर्ने प्रणालीको विकास गरेको हुनुपर्दछ । संसारमै कुनैपनि राजनीतिक आन्दोलनको दीर्घकालीन सफलता त्यसले जनविश्वास कति कायम राख्नसक्छ, लोकतान्त्रिक मूल्यहरुको कति सम्मानगर्छ र सार्वजनिक हितका लागि कति प्रभावकारीरुपमा कामगर्छ भन्ने कुरामा निर्भर हुन्छ ।

नेपालको कम्युनिष्ट आन्दोलनका सन्दर्भमा पनि आत्ममूल्यांकन, पारदर्शिता, जनउत्तरदायित्व र समयानुकूल नीति सुधारले यसको प्रभावकारिता बढाउन योगदान पु¥याउन सक्ने अवस्था छ । नेपालको कम्युनिष्ट आन्दोलनमा धेरै बिकृति र बिसंगतिहरु बढिरहेका छन् । त्यसैले अबका दिनमा पार्टीहरुमा आत्मसमीक्षा, वैचारिक स्पष्टता र संगठनात्मक सुधार आवश्यक देखिएको छ । नयाँ पुस्ताको नेतृत्वले पुराना कमजोरीहरु सत्तामोह, भ्रष्टाचार, अवसरवादबाट मुक्तभएर वैज्ञानिक समाजवादको आधारमा पार्टी पुनर्गठन गर्नुपर्छ । उत्पादनका साधनमा सामाजिक स्वामित्व, आत्मनिर्भर अर्थतन्त्र, र सहकारीकरणमार्फत वर्गीय शोषणको अन्त्य गर्नुपर्छ । सशक्त कूटनीति, समावेशी नीति र जनकेन्द्रित विकासले राष्ट्रिय स्वाधीनता र सामाजिक न्याय सुनिश्चित गर्न सकिन्छभन्ने कुरामा सधै ध्यान दिइनुपर्दछ । कम्युनिष्ट पार्टीहरुले जनसंगठनहरुसँग गहिरो सम्बन्ध कायमगरी जनविश्वास पुनस्र्थापित गर्नुपर्छ । पारदर्शिता, अनुशासन र वैचारिक बहसलेमात्र आन्दोलनलाई बलियो बनाउन सकिन्छ । नयाँ पुस्ताले क्रान्तिकारी विकल्प प्रस्तुतगरी समृद्ध, समान र न्यायपूर्ण समाज निर्माणगर्न सक्छ । जसले नेपालको वर्तमान संकटको समाधान दिनेछ । नेपालको कम्युनिष्ट आन्दोलनले वर्तमान चुनौतीहरुलाई पारगर्न र समाजमा वास्तविक परिवर्तन ल्याउन केही नवीन नीति, कार्यक्रम र दृष्टिकोण अवलम्बन गर्नुपर्ने देखिएको छ । त्यसैले विभिन्न कम्युनिष्ट पार्टीहरुले आफै भित्र समीक्षा र सुधार आजको प्रमुख आवश्यकता भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]