नयाँ जनबादी क्रान्तिको कार्यभार र बैज्ञानिक समाजबाद
नेपाली कम्युनिष्ट आन्दोलनको आमूल र अग्रगामी मूल कार्यक्रम नयाँ जनवादी क्रान्तिको कार्यक्रम नै हो र यसलाई सही किसिमले कार्यान्वयन नगरी यसको कार्यभार पूरा हुँदैन । अनि नेपाल र नेपाल जनताका आधारभूत समस्याहरू हल हुँदैनन् भन्ने कुरा अहिलेसम्मका अनुभवहरुबाट एकदमै प्रष्ट छ । यद्यपि कतिपय मात्रात्मक रुपमा बद्लिएका र गुणात्मक स्थितिका सन्दर्भमा यसलाई सही र संगतिपूर्ण किसिमले समृद्ध पार्ने र उन्नयन गर्नुृृपर्ने विषयमा गम्भीर छलफल गर्दा र बहस चलाउँदा नेपाल र नेपाली जनताको मुक्ति र प्रगतिका लागि यस कार्यक्रमले समेट्न नसकेका कुराहरू के के विकसित भएका छन् र के के कुरा असामयिक भएर गएका छन् भन्ने यथार्थ बस्तुगत धरातलमा खडा हुनैपर्ने हुन्छ । यसबाट दायाँ या बायाँ भड्किएर समस्याको सही समाधान भेटिने छैन । दिशाहीन भएर भौतारिनु बेग्लै कुरा हो ।
नेपालमा यो जनबादी क्रान्तिको कार्यक्रम मूलतः सामन्तवाद र साम्राज्यवाद विरुद्ध जन मुक्ति र राष्ट्रमुक्तिका समस्याहरू समाधान गर्ने प्रष्ट उदेश्य र दृष्टिकोणका साथ कमरेड पुष्पलालले प्रस्तुत गर्नु भएको हो । यो नयाँ जनवादी क्रान्तिको कार्यक्रमका सामन्ती अधिनायकवादी पञ्चायतकालीन सन्दर्भका कुराहरूलाई छाडेर अहिले पनि आधारभूतरुपमा उत्तिकै सामयिक र सान्दर्भिक छ । यो नयाँ जनवादी चरण पार नगरी नेपालमा वैज्ञानिक समाजवादमा प्रवेश गर्ने राष्ट्रिय पूँजीवादको प्रस्थान विन्दु नै विकास हुन सक्तैन, क्रान्तिकारी भूमिसुधार सहीत आम कृषि क्रान्ति हुन पाउँदैन र राष्ट्रिय बजार र पूँजीको विकास तथा रोजगारी सिर्जना हुने स्थिति बन्दैन । यसरी किसान वर्गको मुक्ति र प्रगतिको आधार पनि सिर्जना हुँदैन । अनि बाह्य हस्तक्षेपबाट मुलुक मुक्त रहन पनि सक्तैन । त्यसैले देशको मूख्य उत्पादक र जीवनदायिनी शक्ति किसान वर्गलाई राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक हर तहरले अग्रगामी दिशामा सङ्गठित,एकीकृत र सशक्तरूपमा परिचालन गर्नु वर्तमान चरणको सङ्घर्षको पहिलो सर्वाेपरी र निर्णायक कार्यभार हो । नेपालमा १५ सेप्टेम्बर १९४९ मा पार्टी गठन गर्दा जारी घोषणापत्रमा देशलाई तीनवटा महत्वपूर्ण र मुख्य समस्या सामन्तवाद, भारतीय एकाधिकार पूँजीवाद र विश्व साम्राज्यवाद (त्यतिबेला एंग्लो–अमेरिकी साम्राज्यवाद भनिएको थियो) बाट मुक्त गर्ने स्पष्ट कुरा उठाइएको थियो । जुन नेपालले बेहोरिइरहनु परेका मूल अन्तरबिरोधहरु ह्ुन् । यद्यपि तीमध्ये कहिले कुन कहिले कुन अन्तर बिरोध चर्किएर तीब्र रुप लिन सक्छन् । तर आधारभूतरुपमा यस क्रान्तिको मूल प्रबृत्ति सामन्तबाद र साम्राज्यबाद बिरोधी नै रहेको हुन्छ ।
आज पनि माथि भनिएका तीन मूलभूत समस्या हल हुनुभन्दा झन जटील र पेचिलो भएर गएका छन् । अहिलेसम्मका जनआन्दोलनहरूले सत्ताको उपरी ढाँचा(कगउचकतचगअतगचभ)मा सामान्य परिबर्तन आएको भए पनि आधार(दबकभ)मा कुनै परिवर्तन आएको छैन । वास्तवमा उत्पादन पद्धति र उत्पादन सम्बन्धमा आधारभूत वर्गीय परिवर्तन आउन सक्ने उच्च चरणको परिवर्तन आउन नसकेकै कारण कृषि प्रधान पिछडिएको स्थितिबाट अहिले पनि नेपाली समाज गुज्रिरहेको छ । त्यसैले क्रान्तिकारी भूमिसुधार, राष्ट्रिय औद्योगिकरण र आम विद्युतीकरणको एकमुष्ठ कार्यक्रमका साथ कृषि क्रान्तिलाई पूर्णता दिइनु पर्ने कुरा अहिलेसम्म पनि उठिरहेका हुन् र किसान वर्गका समस्या हल नभइ राष्ट्रिय समस्या पनि हल हुन सक्तैनन् भन्ने कुरा निरन्तर चलिरहेको हो । त्यसैले नयाँ जनवादी क्रान्तिले हल गर्नु पर्ने मुख्य कुरालाई गोल गर्दै त्यसबारे द्विबिधापूर्ण र भ्रमपूर्ण कुरा गरेर समाजवादको पृष्ठभूमि कदापि तयार हुँदैन र यस बारेमा जनताले भोगिराखेका समस्याहरु र उठाइरहेका प्रश्नहरूले पनि सही उत्तर पाउन सक्दैनन् ।
दोश्रो कुरा अर्ध तथा नवऔपनिवेशिक अवस्थाको अन्त्य किन आवश्यक ? भन्ने कुरा एकदमै आधारभूत महत्त्वको गम्भीर कुरा छ । विगतमा राष्ट्रिय स्वाधीनताका विश्वव्यापी आन्दोलनहरूले विश्वका धेरै मुलुकहरू उपनिवेशवादबाट मुक्त भए र दोश्रो विश्व युद्धसम्म आइपुग्दा आमरुपमा औपनिवेशिक युग समाप्त भयो । रूसमा महान लेनिनको क्रान्तिकारी नेतृत्वमा समाजवादी क्रान्तिको सफलता र विश्वको सीमित भूभागमै भएपनि समाजवादी व्यवस्थाको स्थापान तथा छोटो समयमै समाजवादको प्रभावकारी चौतर्फी प्रगतिले गर्दा उपनिवेशवाद कायम राखिराख्न विश्व साम्राज्यवादलाई सहज थिएन । त्यसैले साम्राज्यवादले परम्परागत शोषण शैली र रुपमा परिवर्तन ल्याउन थाल्यो । अन्य मुलुकका भूभागमाथि सिधै कब्जा जमाएर प्रत्यक्ष नियन्त्रण र शासन गर्ने उसको परम्पराका स्थानमा मूलतः अब आर्थिक शोषण, साँस्कृतिक उत्पीडन र राजनीतिक हस्तक्षेपका माध्यमबाट आफ्नो अप्रत्यक्ष नियन्त्रण कामय राख्ने बाटो साम्राज्यवादले अख्तियार गर्न थाल्यो । साम्राज्यवादी शोषणको यो नयाँ स्वरूपले तेश्रो विश्वका देशहरू कानुनीरुपले स्वतन्त्र र सार्वभौम देखिए पनि उनीहरूको स्वतन्त्रता र सम्प्रभूता औपचारिकरुपमा मात्र रहनपुग्यो । यसका अतिरिक्त बिभिन्न सैनिक सङ्गठनहरूमा पनि देशहरूलाई प्रत्यक्ष वा परोक्षरूपमा तान्ने हत्कण्डा साम्राज्यबादले अपनाउन थाल्यो । अहिले यस्ता साम्राज्यबदी गतिविधिहरू बिश्वका प्रायः सबै महादेशमा तीव्र तुल्याइएका छन् ।
आफ्नो राजनीतिक भविष्यका बारेमा आफै निर्णय गर्न पाउने, विकासको बाटो आफैले तय गर्न पाउने र आफ्ना प्राकृतिक श्रोत साधनरुको उपयोग आफ्नै देश र जनताको हितमा प्रयुक्त गर्न पाउने तेश्रो बिश्वका देशहरूको स्वाधीन र आत्मनिर्णयको अत्यन्तै आधारभूत र महत्वपूर्ण अधिकार साम्राज्यवादी–प्रभुत्वशाली देशहरूको हस्तक्षेपले गर्दा कुण्ठित हँुदै गयो । यस प्रकार साम्राज्यवादी–प्रभुत्ववादी शक्तिहरूको दलाली गर्ने शासकहरूको सानो गुटको माध्यमद्वारा अविकसित र पिछडिएका देशहरू परोक्ष किसिमले पराधीनताको पासोमा पर्दै गए । आज तेश्रो विश्वका मुलुकहरूको यही खण्डित सार्वभौमिकता र अपरोक्ष पराधीनताको अवस्थालाई अर्ध औपनिवेशिक र वित्तिय पूँजीवादको आजको शोषणकारी अवस्थामा नव औपनिवेशिक भनेर चित्रण गरिएको हो । तेश्रो विश्वका प्राकपूँजीवादी चरणबाट गुज्रिरेहका जुनसुकै मुलुक पनि यस अबस्थाबाट पार नभई अर्ध औपनिवेशिक तथा नवऔपनिवेशिक नरहेको निष्कर्ष निकाल्नु क्रान्तिकारी आन्दोलनलाई गलत मोड दिने र स्वाधीनताको आन्दोलनलाई कमजोर तुल्याउने कुरा मात्र हुन जान्छ भन्ने यर्थाथ पनि एकदमै प्रष्ट छ ।
निश्चय पनि नेपाल कुनै पनि साम्राज्यवादी देशको प्रत्यक्ष उपनिवेशमा कहिले पनि नपरेको संसारका दुर्लभ मुलुकमध्ये एक रहेको कुरा यथार्थ हो । यो हाम्रा पूर्खाहरूको साम्राज्यवाद विरोधी सङ्घर्षको परिणति हो भन्ने कुरामा हामीले निश्चय नै गौरव गर्नै पर्दछ । तर ब्रिटिश साम्राज्यवाद विरुद्धको १८१४—१६ को युद्धमा भएको पराजय र देशले झण्डै आधाजसो भू–भाग गुमाएर गर्नु परेको अपमानजनक सुगौली सन्धि पछिदेखि नेपाल अर्ध औपनिवेशिक अवस्थामा परेको र त्यसपछिका शासक वर्गले अग्रेज उपनिवेशवादीहरूको हितमा काम गर्दै नेपालको स्वाधीनताको गौरवमय परम्परालाई कुण्ठित तुल्याउदै आएको इतिहास पनि एकदमै बिर्सन नसकिने र स्पष्ट कुरा छ । आज त हामी हाइपर–साम्राज्यबादी शोषण उत्पीडनको चरणमा पुगेका छौं ।
साम्राज्यबाद र उपनिवेशबाद्वारा हिजोदेखि नै नेपाली यूवाहरूलाई विश्वका शक्तिशाली राष्ट्रहरूको रक्षा र तिनको सीमा सुरक्षाका निमित्त भाडाको सिपाहीकोरुपमा काममा लगाउने कुरा पनि संस्थागत हुँदै आयो । नेपालमा त्यसलाई १९४७ मा भएको गोर्खाभर्ति सन्धिले निरन्तरता दिएको पनि प्रष्टै छ । त्यसैगरी १९५०को भारतसँगको ‘शान्ति तथा मैत्री सन्धि’मार्फत नेपाललाई भारतीय सुरक्षा छातामुनि राख्ने तारतम्य पनि मिलाइयो । यही पृष्ठभूमिका आधारमा नेपालको सार्वभौमिकता र स्वाधीनता खण्डित भएको निष्कर्ष निकाल्दै नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै देशलाई ‘अर्ध औपनिवेशिक अबस्थामा’ रहेको विश्लेषण गरेको एउटा ऐतिहासिक वास्तविकता हो ।
यो स्थितिबाट मुक्त नभई नेपाल कानुनीरुपमा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न भनेर लेखिए पनि यथार्थमा अर्ध तथा नव औपनिवेशिक अवस्थामै रहनेछ । नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य हुँदा, विश्व मञ्चहरूमा स्वाधीनता र स्वतन्त्रताको आवाज उठाउँदा, असंलग्न आन्दोनलको सक्रिय सदस्य हुँदा या सार्कको सदस्य राष्ट्र हुदा वा विश्वव्यापार सङ्गठनको सदस्य हुँदा तेश्रो विश्वका मुलुकहरूको आवाज बुलन्द गर्दा पनि नेपालको यही अवस्था फेर्नका लागि मद्दत पुग्दछ । ती कारणहरूले नेपालको सार्वभौमिकता र स्वाधीनता अखण्डित छ भन्ने अवस्था सिर्जना हुँदैन भन्ने कुरा विर्सन हुँदैन । आज त बिश्व बित्तिय पूँजीको कारण नेपाल बहुराष्ट्रिय निगम (एमएनसी) तथा पारराष्ट्रिय कम्पनी(टीएनसी)हरूको शोषणको क्रिडास्थल बनेको छ । यो त्यही अर्ध औपनिवेशिकता कै बद्लिँदो रुप अर्थात नवऔपनिवेशिक शोषण बाहेक अरु केही होइन । यो सत्यलाई ढाकछोप गर्ने कुनै पनि कुराले नेपालको राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई भुत्ते बनाउँदछ, गलत मोड दिन्छ र कमजोर पार्दछ । जुन नयाँ जनवादी क्रान्तिको एउटा प्रमुख राष्ट्रिय कार्यभार अर्थात ‘आत्मा’ हो ।
वास्तवमा हिजो कमरेड पुष्पलालले नेपाललाई अर्ध औपनिवेशिक भनेर चित्रण गर्दा जुन सन्दर्भ र तर्ककासाथ विषयहरू अघि सार्नुभएको थियो ती सन्दर्भ र समस्याहरू आजपनि कायमै रहेका छन् । आज पनि हामी आर्थिक रुपमा परनिर्भर नै छौ । यो हाम्रो आन्तरिक कारणका अतिरिक्त असमान बाह्य व्यापारिक एवं आर्थिक सम्बन्धका कारणले उत्पन्न भएको स्थिति हो । नेपालमाथि बाह्य साँस्कृतिक प्रभाव र दबाव तथा साँस्कृतिक अतिक्रमण पनि उत्तिकै तीव्ररुपमा हँुदै आएको छ । नेपालको लामो समयदेखिको भारतसँगको सीमा समस्या सुल्झिएको छैन । लिपुलेकको कुरा निरन्तर बल्झिरहनुको कारण पनि यही नै हो । कालापानी, सुस्ता लगायतका धेरै क्षेत्रहरूमा हाम्रो भू–भागहरू भारतीय अतिक्रमणमा परेका छन् । १९५० को सन्धि, गोरखा भर्ती सन्धिलगायत अन्य कतिपय सन्धिहरू खारेज नहुँदा र नेपालको हित विपरीत जल सम्पदा सन्धिहरू गरिदा नेपालको राष्ट्रिय हित मात्रै कुण्ठित भएको नभै सार्वभौमिकता नै खण्डित र सन्देहास्पद हुँदै गएको छ र नेपाललाई नवऔपनिवेशिक दोहनको स्थितिमा धकेलिदिएको छ ।
नेपालको आन्तरिक कमजोरीका कारण बाह्य दबाब, प्रभाव र चासो बढिरहेको मात्रै छैन, बाह्य शक्तिको ‘सुक्ष्म व्यवस्थापन’ (माइक्रो म्यानेजमेण्ट) (अर्थात ठूला साना चयन, नियुक्ति, सरुवा, बढुवा र खारेजी जस्ता कुरामा समेत बाह्य हस्तक्षेप) बढिरहेको छ । पछिल्लो अमेरिकासँग भएको अत्यन्तै बिबादास्पद र अपमानजनक एमसीसी सम्झौताले पनि यही वास्तबिकतालाई दर्शाउँदछ । नेपाली समाजको यस्तो अवस्थाको चित्रण गर्दा यसको स्वाधीनता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त व्यापक नेपाली जनताको एकता र तिनीहरूको हकहितको रक्षागर्ने जनवादी क्रान्तिको आवश्यकता अझ ज्वलन्तरुपमा उपस्थित हुन्छ । जहाँ नेपाली समाजका सबै तह र तप्का अर्थात सच्चा देशप्रेमी, जनवादी, प्रगतिशील वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूको क्रान्तिकारी एकता अनिवार्य छ । क्रान्तिकारी नेपाली कम्युनिष्ट आन्दोलनमा यीनै कुराहरूलाई आत्मसात गर्दै कमरेड पुष्पलालले भन्नु भएको ‘लाखौलाख झोपडीको एकता आजको सन्दर्भमा नेपालको राष्ट्रियता र तिनै झोपडीहरूको हकहित नै जनवाद हो’ भन्ने दूरगामी, गम्भीर र सारपूर्ण कुरालाई अङ्गीकार गर्दै नेपाली क्रान्तिले पूरा गर्नु पर्ने युगीन कार्यभार अर्थात — सामन्तवाद र साम्राज्यवादबाट मुक्तिको बाटोमा निरन्तर अघि बढ्ने दृढ अठोट र सङ्कल्प नेपालीजनता समक्ष आज पुनः दोहो¥याउनु उत्तिकै मात्र होइन अझ बढी आवश्यक छ ।
क्रान्तिको यस चरणमा नेपाली कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टी विश्वभरिका मुक्तिकामी जनताका वर्गीय शोषण र सामाजिक उत्पीडन विरुद्धका न्यायपूर्ण सङ्घर्षहरूलाई अभिवादन गर्दछ र तिनीहरूसँग ऐक्यबद्धता जनाउँदछ । साथै सबै देशहरूसँग पञ्चशीलमा आधारित समानता, सम्मान, अहस्तक्षेप, अनाक्रमण तथा पारस्परिक लाभ र स्वतन्त्रतामा आधारित सुमधुर सम–मैत्री र सम निकटताको सम्बन्ध कायम गर्नमा अझ बढी जोड दिन्छ । खासगरी छिमेकी मुलुकहरूसँग यीनै आधारमा सम–मैत्री र अनाक्रमण अहस्तक्षेप सन्धि सहीतको सम्बन्ध कायम गर्न चाहन्छ ।आजको बद्लिदो भू–राजनीतिक स्थितिमा हाम्रो देशको भू–अबस्थिति र भू–राजनीतिको अबस्थामा अझ बढी आवश्यक छ ।
त्यसैले हाम्रो मुलुक कुनै पनि बिदेशी शक्तिको परेड मैदान नबनोस् र कसैका विरुद्धपनि यो भूमि प्रयोग हुन नपाओस् भन्ने कुरामा नेपाली कम्युनिष्ट आन्दोलन प्रष्ट छ र द्विबिधारहीत ढङ्गले प्रष्ट भइरहनु‘पर्दछ । साथै हाम्रो देशको विरुद्ध अरु देशको भूमिबाट पनि नेपाल र नेपाली जनताका विरुद्ध कुनै किसिमको गतिविधि नहोस् भन्ने कुरामा समेत नेपाली कम्युनिष्ट आन्दोलन र नेपाल कम्युनिष्ट पार्टी विशेष जोड दिन चाहन्छ र सजग रहन्छ । नेपालमाथिको बढ्दो अमेरिकी साम्राज्यबादी हस्तक्षेप यतिबेला एमसीसीको नाममा भइरहेको छ त्यसको पार्टीले लगातार एकल र संयुक्त रूपमा पनि निरन्तर बिरोध र सङ्घर्ष गरिरहेको छ । नेपाल कम्युनिष्ट पार्टी नेपालको स्वाधीनता, सम्बृद्धि, सामाजिक न्याय, सामानता र शान्तिका निमित्त सबै मुलुकहरू र खासगरी छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई अझ परिमार्जित र विकसित गर्नुपर्ने आवश्यकता औँल्याउँदछ र जोड दिन्छ । वास्तवमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट आन्दोलन सर्बहारा वर्गको आन्दोलन भएकोले यसले निश्चय पनि अन्तर्राष्ट्रिय सर्वहारावादमा दृढ विश्वास गर्दछ नै । तर पार्टीले राष्ट्रिय दायित्व पूरा नगरी अन्तर्राष्ट्रिय कर्तव्य र दायित्व पनि पूरा गर्न सक्तैन भन्ने कुरामा पनि यो उत्तिकै सचेष्ट छ र रहिरहनु पर्दछ । कमरेड माओको नेतृत्वमा भएको चिनियाँ नयाँ जनवादी क्रान्तिको महत्त्वपूर्ण अनुभवले पनि हामीलाई यथार्ततः यही सुस्पष्ट शिक्षा दिन्छ र दिइरहेकोछ ।
यी दुइ महत्वपूर्ण विषयका अतिरिक्त आज विश्वमा खासगरी जल, थल र नभमा नै जुन पर्यावरण र प्रदुषणको समस्या खडा भएको र मानव अस्तित्व नै महासङ्कटमा पर्ने अत्यन्तै गम्भीर संकटको स्थिति सिर्जना गरिएको छ त्यो पूँजीवादी अति नाफा केन्द्रित प्राकृतिक श्रोत साधनको जथाभावी निर्मम दोहन तथा मूलतः मानवद्वेषी आणविक परमाणविक हात हतियारको निर्माण नै हो । यसका विरुद्ध पनि नेपाल कम्युनिष्ट आन्दोलनले थप ब्यापक र गहन अध्ययन अनुसन्धानका साथ आन्दोलन चलाउनु पर्दछ र अरु शक्तिहरूले यस सम्वन्धमा गरिरहेका आन्दोलनप्रति दृढ ऐक्यवद्धता जनाउनु पर्दछ ।
यसका अतिरिक्त आज आतङ्कवाद विश्वमा साम्राज्यवादकै सह– उत्पादनको रुपमा देखा परेको र यसलाई धार्मिक, सामुदायिक, जतीय र साँस्कृतिक आवरण दिएर जनतालाई परस्परमा लडाउने बिद्वेष फैलाउने र वर्गीय शोषण र सामाजिक उत्पीडिनका विरुद्धको बिश्वका श्रमजीवी जनताको मूल र सही आन्दोलनलाई विभाजन गर्ने, गलत दिशामा भड्काउने कुत्सित मनशाय यसमा लुकेको देखिन्छ । यसका विरुद्ध पनि नेपालको कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टी प्रष्ट अडान राख्दछ र जनतालाई विभाजन गर्ने यस्ता सबै प्रकारका हतकण्डाको विरुद्ध खडा हुन्छ र हुनु पर्दछ भन्ने सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, निष्ठावान लोकतािन्त्रक तथा साम्राज्यबाद बिरोधी सच्चा देशभक्त शक्तिहरू समक्ष जोडदार अपिल पनि गर्दछ । यो नै आजको हाम्रो नयाँ जनबादी क्रान्तिको मूलभूत कार्यभार हो र बैज्ञानिक समाजबादमा पुग्ने आधारभूमिको तयारी गर्ने अनिवार्य शर्त पनि हो । यसबाट दायाा बायाँ लाग्नु कम्युनिष्ट आन्दोलनबाट बिचलित हुनु मात्रै हो ।

