लोकतान्त्रिक ‘शासन प्रणाली’को घोडामा सवार अधिनायकवाद
‘सत्ता’ भनेको राज्यसत्ताको एउटा वर्गीय चरित्रलाई जनाउने शब्द हो। सत्ता संचालन गर्न ‘शासन प्रणाली’ आवश्यक र अनिवार्य पक्ष हो। ‘शासन प्रणाली’ भनेको राज्य संचालन गर्ने संस्थागत ढाचा, बिधि र संरचना हो। ‘सत्ता’ संचालनका लागि निश्चित ‘शासन प्रणाली’ नै एक महत्वपूर्ण अस्त्र मानिन्छ। नेपालको दलाल पुजीवादी सत्ता संचालन गर्ने ‘कानूनी’,र ‘संवैधानिक’अस्त्र भनेको २०७२ सालको संविधानले निर्दिष्ट गरेको ‘शासन प्रणाली’ हो। जसलाई बिभिन्न स्वरूपका सबै संसदीय राजनीतिक शक्तिहरुले नेपालको बर्तमान राज्य संचालनको बैधानिक र उपयुक्त प्रणाली मान्दछन्। तर एउटा नवदलाल पुँजिवादी शक्ति भने उक्त ‘शासन प्रणाली’को घोडा चढेर अघोषित रुपमा अधिनायकवादी ‘शासन प्रणाली’को (practice as preparation) अभ्यास गरिरहेको छ। केही बुर्जुवा बुद्धिजीवीहरु त्यस्तो अबैध शासन प्रणालीलाई कानुनी तर्क दिदै (शासन शैली)को रुपमा सिमित गर्ने छन्। उता लोकतन्त्रका हिमायती संसदवादी राजनितिक शक्तिहरू: सरकारका असामान्य गतिविधिहरुमा सामान्य बिरोध र समर्थन गरेपनि, गम्भीर बिषयमा भने चुपचाप बसिरहेका छन्। यस्तो स्थितिमा कम्युनिस्ट नामका (वास्तविक कम्युनिस्ट) हुन सक्ने राजनीतिक शक्तिहरु , बुद्धिजीवी , राष्ट्रवादी, बामपन्थी शक्तिहरु तथा सचेत नागरिक: देशको रक्षा, जनताको राज्यसत्ता, उपयुक्त ‘शासन प्रणाली’, नागरिक रक्षा र स्वतन्त्रताको लागि समाजवादी रुपान्तरणमा आधारित सुझबुझपुर्ण बहसमा जुट्नु आजको सत्य र आवश्यकता हो। त्यस्तो बहस पहलका लागि सच्चा कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व सचेततापूर्वक अघि बढ्नु जरुरी भइसकेको छ। यिनै बिषयमा छोटो चर्चा गरौँ।
सत्ताको चरित्र
राजनीतिक सिद्धान्त अनुसार विश्वमा सत्तालाई निम्न आधारमा वर्गीकरण गरिएको छ। भिन्न राज्यसत्ताका भिन्नै चरीत्रको केन्द्रीय भाग (सारभूत) लाई थोरै वाक्यांश मा भन्न सकिन्छ, जो निम्न अनुसार छन्।
* दास मालिक वर्गको सत्ता (दासप्रथा)
* सामन्तवादी सत्ता (सामन्त वा जमिन्दार वर्गको प्रभुत्व भएको सत्ता)
* पुँजीवादी सत्ता (उत्पादनका साधनमाथि पुँजीपति वर्गको नियन्त्रण रहेको सत्ता)
* समाजवादी सत्ता (श्रमिक वर्गको नेतृत्वमा स्थापित सत्ता)
* साम्यवादी अवस्था (जहाँ वर्ग र राज्य दुवै क्रमश लोप हुने र परम्परागत राज्य होइन , राज्यविहीन समाजको उदय)
शासन प्रणाली
सत्ता संचालनका लागि हरेक मुलुकहरुमा निस्चित “शासन प्रणाली” कायम छन्, अत: ति कुनै पनि निस्पक्ष हुदैनन् , बर्गपक्षको आधारमा प्रणाली कायम गरिन्छ। विश्वमा केही त्यस्ता देशहरु छन्, जहाँ नेपालको जस्तो लिखित संविधान छैन। जस्तै: (बेलायत) त्यहाँ संसदले बनाएको कानुन, अदालतका नजिर, संवैधानिक परम्परा र ऐतिहासिक दस्तावेज जस्ता आधारहरुमा शासन प्रणाली कायम गरिएका छन्। त्यसैगरी संविधान भयका देशहरूमा त्यही देसको (शासक पक्षधर) संविधानले निर्दिष्ट गरे अनुसार शासन प्रणाली लागू गरिन्छ। अहिले सम्मका ‘प्रणाली’ हरूमा संसदीय, रास्ट्रपतिय, अर्ध-रास्ट्रपतिय र अधिनायकवादी ‘शासन प्रणाली’ हरु पुँजिवादी/दलाल पुजीवादी सत्ताका महत्वपूर्ण अस्त्र हुन्। पुँजीवादी सत्ताका उल्लेखित सबै शासन प्रणाली खराब हुन्, त्यसमध्ये सबैभन्दा जनविरोधी शासन प्रणाली अधिनायकवाद हो।सबै खालका पुँजिवादीहरु आफ्नो संविधान/कानुनले निर्दिष्ट गरेको शासन प्रणालीप्रति प्रतिबद्ध रहेर त्यसको बलमा सत्ता जोगाउने भगिरथ कसरथमा छन्। तर बालेन सरकारको उदय र गठन पछि नेपालमा फरक दृश्य देखा परेको छ।
(क) नेपालको दलाल पूँजीवादी राज्यसत्ता सञ्चालन गर्ने कानुनी र संवैधानिक अस्त्र भनेको २०७२ सालको संविधानले निर्दिष्ट गरेको बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक (संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय) शासन प्रणाली हो। यही प्रणालीलाई भिन्न स्वरूपका सबै संसदीय राजनीतिक शक्तिहरूले नेपालको वर्तमान राज्य सञ्चालनको वैधानिक र उपयुक्त प्रणाली मान्दछन्। तर एउटा नवदलाल पुँजीवादी शक्ति बालेन सरकार भने उक्त शासन प्रणालीको घोडा चढेर अधिनायकवादी शासन प्रणालीको (practice as preparation)अभ्यास गरिरहेको छ। जुन पुँजिवादी सत्ता संचालनका प्रणालीहरु मध्य सबैभन्दा खराब र मानवसमाज बिरोधि शासन प्रणाली हो। त्यही अबैध प्रणाली अभ्यासको कारण बालेन सरकारको पतन अवश्यभावी छ। तर सच्चा कम्युनिस्ट पार्टीको बिबेकपूर्ण पहल र नागरिकको सचेत्ततापुर्ण सहभागिता अनिवार्य छ।
(ख) अधिनायकवादी शासन प्रणालीका मुख्य बिषेशताहरु
* शक्ति सीमित व्यक्ति वा समूहमा केन्द्रित गर्नु।
* राजनीतिक प्रतिस्पर्धा र विपक्षी गतिविधिमा नियन्त्रण गर्नु र (विपक्षी दललाई कमजोर पार्नु)।
* अभिव्यक्ति, प्रेस र संगठनको स्वतन्त्रतामा नियन्त्रण गर्नु।
* उत्तरदायी हुनु,जवाफदेही नहुनु।
* चुनाव भएपनि स्वतन्त्र र निष्पक्ष नहुनु।
* कानुनी राज्यका संस्थाहरूमा शासकको उच्च प्रभाव। * कानुनभन्दा माथि सत्ताधारी हुन खोज्नु)।
* निर्णयहरू जनताको सहभागिता बिना गरिनु र शासकको आदेश नै मुख्य हुनु।
* कानुन, सेना, प्रशासन आदि प्रयोग गरेर शासन नियन्त्रण गर्नु।
आज नेपालमा माथि उल्लेख गरिएका बिषेशता अनुसार “शासन प्रणाली”को (तयारीमुलक) अभ्यास गरिरहेको देख्नु भएको छ ?
संसदीय राजनीतिक शक्तिहरू
नेपालका ठुला राजनैतिक शक्तिहरू: नेपाली कम्युनिस्ट पार्टी,ने क पा एमाले , नेपाली कांग्रेस लगायतका संसदवादी पार्टीहरूले: बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक (संघीय लोकतान्त्रिक गणतन्त्रत्मक) शासन प्रणाली मान्दछन् , जसलाई ‘समाजवाद’ उन्मुख परिपाटी पनि भन्ने गर्दछन्। २०७२ को संविधानले निर्दिष्ट गरेको शासन प्रणालीमाथि पश्चिममा शक्ति+बालेन सरकारद्वारा भैरहेका गतिविधि रोक्नु र देशलाई पश्चगमनको दिशाबाट जोगाउनु, ति पुँजिवादी संसदीय राजनीतिक शक्तिहरुले पनि आफ्नो कर्तव्य ठान्नुपर्ने हो। तर उनीहरू सरकारका असामान्य गतिविधिहरुमा सामान्य बिरोध र समर्थन गरेपनि “शासन प्रणाली” जस्तो गम्भीर बिषयमा चुपचाप र यथास्थितिमा हुने चुनाव जितेर पुनः सत्तासिन हुने असंभव कल्पनामा निदाइरहेका छन्। उनीहरु त्यहि स्थितिमा रहने हो भने, न दलाल पुँजिवादी राज्यसत्ताको विद्यमान”शासन प्रणाली”बचाउन सक्छन्,न त उनिहरुले भन्ने गरेको समाजवाद उन्मुख यात्राको गफ गर्ने थलो रहन्छ। त्यसैले सबै राजनीतिक शक्ति समाजवादी रुपान्तरणको अर्थपूर्ण बहसमा जुट्नु आजको आवश्यक्ता हो।
निष्कर्ष
गोली, जेल र दमनलाई समाधान देख्ने सरकारद्वारा गरिएका प्रधानन्यायाधीश नियुक्ति, गभर्नर नियुक्ति, शासकहरुका अस्वभाविक सचिवालय गठन लगायतका नियुक्ति, सुकुम्बासी बिरुद्दको आक्रमण,मिटरब्याज पीडित विरुद्धका कदमहरू,संसदमा भारतको भुमी नेपालले मिचेको भन्ने राष्ट्रघाती अभिब्यक्ति लगायतका घटना अधिनायकवादी “शासन प्रणालीको”(practice as preparation) अभ्यास कै परिणाम हुन्। यि सबै नेपाल र नेपाली नागरिकका विरुद्ध छन्। तसर्थ नेपाल र नेपाली नागरिकलाई जोगाउँदै देशको अग्रगमन निकास र (जनताको सत्ता) ‘वैज्ञानिक समाजवादी’ रुपान्तरणका लागि अर्थपुर्ण बहसमा जुटौ। यसको पहल लिन सक्ने सामथ्र्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी) संग छ।

